


काठमाडौं,२६ कार्तिक। जेनजी आन्दोलनमा भएको क्षतिका कारण बन्द हुन पुगेको काठमाडौंको पाँचचार होटल हयात रेजेन्सीले कर्मचारी कटौती गरेको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाउँदै मंसिर २२ गतेदेखि लागु हुने गरी १३३ जना कर्मचारी कटौती गर्ने निर्णय भएको जनाएको छ।

होटलको मानव संसाधन विभागका महाप्रबन्धक आशिष कुमारले जारी गरेको सूचना अनुसार ‘होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नुपर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मिति २०८२/०८/२२ गते देखि लागू हुनेगरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको छ।’
आन्दोलनको क्रममा होटलमा एक विदेशी पाहुनाले आगलागीबाट ज्यान जोगाउने क्रममा चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो। आगलागी र तोडफोडका कारण होटलको भौतिक संरचना पूर्णरुपमा नोक्शानमा परेको छ र अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातीमा समेत नकारात्मक असर परेको छ।
होटलको मर्मत सम्भार नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेकाले मर्मत अवधिभर कुनै आम्दानी नहुने र ठूलो आर्थिक चुनौतीको सामना गर्नुपर्ने अवस्थाका कारण श्रमिक कटौती गर्नुको विकल्प नरहेको जारी सूचनामा उल्लेख छ ।
कोभिड–१९ महामारीको कारण लामो समय होटल तथा पर्यटन क्षेत्र प्रभावित भएको र हालसालै केही सुधारको संकेत देखिन थालेको अवस्थामा भदौ २४ को घटनाले होटललाई पुन: गम्भीर आर्थिक संकटमा पारेको व्यवस्थापनले जनाएको छ।

