


काठमाडौं,४ मंसिर। जेनजीका विभिन्न २३ समूहहरुले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग गरेका छन्।
जेनजीको भावनाअनुसार कार्की नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्। प्रधानमन्त्री कार्कीसँग विभिन्न अपेक्षा राखिए पनि त्यो पूरा नभएको उनीहरुको गुनासो छ।

‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्युनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनावमात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो। जेनजीका मागहरूलाई सम्बोधन नगरिए सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न निवेदन गर्दछौं,’ मागपत्रमा भनिएको छ।
प्रधानमन्त्री कार्कीको विकल्प माग गर्नेमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसियसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीबी ग्रुप, जीयुपीसी ग्रुप, जेवाइएन ग्रुप, जेनजी युनाइटेड, जेनजी २.०, रियल जेनजी, जेनजी वाई ग्रुप, जेनजी अलायन्स, नेपाल जेनजी रिभ्युलेसन, इक्वीटी नेपाल, समता जेनजी, अल नेशन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी ग्रुप, जेनजी एकता मञ्च र जेनजी मुभमेन्ट नेपाल रहेका छन्।

