
भैरहवा, ८ मंसिर। आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा एक अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व संकलन गरेको हो।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ।
Advertisement

Advertisement
Advertisement

चार महिनामा चार अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व संकलनको लक्ष्य पाएको यो कार्यालयले पाँच अर्ब ३९ करोड ४६ लाख ६५ हजार संकलन गरेको छ। यो लक्ष्यको २७.३ प्रतिशतले बढी र लक्ष्यको १२७ दशमलव तीन प्रतिशत संकलन भएको प्रमुख पोख्रेलले जानकारी दिए।
‘गत आवको तुलनामा राजस्व संकलन ५१.५ प्रतिशतले वृद्धि भएको छ। चारै महिना हामीले लक्ष्य हासिल गरेका छौँ’, उनले भने। राजस्व संकलनको जम्मा लक्ष्यमा अन्त:शुल्कको ठूलो हिस्सा अर्थात् ८२.६ प्रतिशत रहेको उनले जानकारी दिए। ‘मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ। तर ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ’,उनले भने।
आव २०८१र८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म तीन अर्ब ५६ करोड दुई लाख ६१ हजार संकलन गरेको थियो। राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ। कार्यालय अन्तर्गतका उद्योगी–व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको उनल बताए। आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन्।

