


काठमाडौं,१७ मंसिर। भन्सार नाकामा अस्थायी पैठारी शुल्क बुझाएका छिमेकी देशका पर्यटक सवार सवारीसाधनबाट अब नेपालभित्र अतिरिक्त शुल्क नलिइने भएको छ।
अन्तरसरकारी वित्त परिषद्को बैठकले छिमेकी मुलुकका पर्यटकलाई सहज आवागमनको वातावरण बनाउने उद्देश्यले यस्तो निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ।

‘छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि तोकिएको दिनसम्म निर्वाध नेपालभित्र अन्य कुनै शुल्क नलिई सहज आवागमन हुने व्यवस्था मिलाउने,’ निर्णयमा उल्लेख छ ।
पर्यटन व्यवसायीहरुले लामो समयदेखि विभिन्न तहका सरकारहरुले पर्यटक सवारीसाधनबाट थप शुल्क उठाउँदै आएको भन्दै गुनासो गर्दै आएका थिए। यस्तै, परिषद्ले सबै प्रदेशको वित्तीय तथा राजस्वसम्बन्धी कानुनहरुमा सामञ्जस्य कायम गर्ने निर्णय पनि गरेको छ।

