
भैरहवा, २६ मंसिर। नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) का वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिदै गएकोले चुनाव केन्द्रीत गतिविधिमा लाग्न पार्टीका नेता तथा कार्यकताहरुलाई आग्रह गरेका छन्।
शुक्रवार पार्टीका नेता तथा कार्यकताहरुसँग अन्तरक्रिया गर्न भैरहवा पुगेका उनले अगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचन हुनेमा कुनै शंका नरहेकोले चुनाव केन्द्रीत गतिविधि गर्न आग्रह गरे।
Advertisement

Advertisement
Advertisement

‘जेनजीको आन्दोलन पश्चात गठन सरकारको म्याण्डेट नै चुनाव सम्पन्न गराउने हो। नेकपा एमाले पनि निर्वाचनमा सहभागी हुनका लागि तयारीका साथ दल दर्ता लगायतको प्रक्रिया पुरा गरेको अवस्था छ’,उनले भने, ‘केही दिन तलमाथी हुन सक्छ तर चुनाव निश्चित हुन्छ । जेनजी आन्दोलनको निश्कर्ष पनि चुनाव नै हो।’
उनले जेनजी आन्दोलन विशुद्ध सुशासन, विकासका लागि भएको र परिवर्तनका लागि निर्वाचन अपरिहार्य रहेको तर पुनः सोही सांसद् (पुराना नेता) लाई नै मतदान गर्नु रगत बगाएका जेनजीहरु माथी धोका हुने टिप्पणी गरे।
उनले नाउपाने समावेशिताको पार्टी भएको उल्लेख गर्दै नागरिकको पहिचान र सम्मान हुनुपर्ने पार्टीको स्पष्ट धाराणा रहेको बताए। पार्टीमा एकल नेतृत्व भएको अवस्थामा पार्टी गतिशिल हुन नसक्ने भएकोले ‘मल्टीलिडर’ नेतृत्व हुनुपर्ने आवश्यक रहेको बताए ।
‘पार्टीको कुनै कार्यक्रम गर्दा रेशमजीको मात्र फोटो हुनुभएन । स्थानीय नेताको पनि फोटो त्यहाँ राख्दिनुस न ! यसले पार्टीप्रति अपनत्व पनि बढाउँछ’, कार्यकर्तालाई उदाहरण दिदै उनले भने,‘त्यसैले म भन्छु एकल नेतृत्व हुनुहुँदैन, पार्टीलाई गतिशिल बनाउनुपर्छ । जसका लागि ‘मल्टीलिडर’ नेतृत्व हुनुपर्छ ।’
उनले विकास, रोजगारीको मुद्दासहित नयाँ नेपालको अवधारण अन्र्तगत आफुहरु अघि बढेकोले सबै जात, धर्मलाई साथमा लिएर सामाजिक एकता कायम गर्दै अघि बढ्न आग्रह गरे। उनले जनताको मत लिन नसक्ने भए नेतृत्वमा कमी रहेको स्विकार गर्दै समिक्षाका साथ आत्मआलोचना गर्नुपर्ने बताए।
नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरीको अध्यक्ष रहेकी उनको श्रीमती रञ्जिता श्रेष्ठसँगको विवाद बढेपछि चौधरीले निर्वाचन आयोगमा पुनः पार्टीको संरक्षक रहेर नागरिक उन्मुक्ति पार्टी, नेपाल दल दर्ता भएको छ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्यहरु आसिन गुरुङ, रामु यादव, नन्दा चौधरी, किरन गुप्ता, रुपन्देही जिल्ला संयोजक विजय चौधरी, क्षेत्र नम्बर १ का इन्चार्ज रामकुमार कठरिया, युवा नेता मोहिबुद्दिन अन्सारी, पारस भार, उमा शंकर धरिकार, जाहिद अलि खान, विरेन्द्र कुमार धवल, धर्मेन्द्र लोध, रमेश यादव, अजिज अहमद, कैलाश यादव, प्रवेश कुमार लोध, राजुकमार वर्मा लगायतका नेता कार्यकता तथा शुभेच्छुकहरुको उपस्थिती थियो ।

