


भैरहवा,२० पुस। रुपन्देहीको भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।
त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ बीच प्रतिस्पर्धा हुने गरी टेष्ट, वनडे र टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्पर्धा हुन लागेको यो पहिलो पटक रहेको आयोजक रुपन्देही क्रिकेट संघले जनाएको छ।

आइतबार भएको टेष्टको पहिलो दिन आर्मीले रुपन्देहीविरुद्ध १६ रनले अग्रता लिएको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ रोजेको रुपन्देही–११ ले ३३ ओभर १ बल खेल्दै १ सय २२ रनमा अलआउट हुन पुग्यो ।
उसका लागि आकाश त्रिपाठीले ३७, सन्देश थापाले २०, प्रज्वल थापाले १९ र मिर्नाल गुरुङले १८ रनको योगदान दिए। बलिङमा आर्मीका अनिश धामीले १३ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिन सफल भए। यस्तै, घनश्याम पाण्डेले ३ र पारससिंह धामीले २ विकेट लिए।
आर्मीले पहिलो इनिङमा ४४ ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो। जसमा प्रदीप पेलाले ४८ र जितेन्द्रसिंह ठकुरीले ४३ रन बनाए । बलिङमा रुपन्देहीका अजय चौहान र विप्रसन केसीले ३–३, सुरज खड्काले २ र देव खनालले १ विकेट लिए । टेष्टको बाँकी खेल सोमबार हुनेछ ।
प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन्। प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ । प्रतियोगिता संयोजक प्रथम पराजुलीलका अनुसार पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–२० क्रिकेट सिरिज हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले क्रिकेट खेल युवाहरुको जीवनसँग जोडिएको बताए। उनले क्रिकेटमा भविष्य देख्ने युवाहरुको सपना साकार पार्न प्रदेश सरकारले योजनाबद्धरुपमा काम गरिरहेको जनाए।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले नेपालमै नौलो र ऐतिहासिक प्रतियोगिता भैरहवामा सुरु गरिएको जनाए । नेपालमा दुई टीमबीच यस किसिमको खेल यसअघि भएका छैनन् । यसैले पनि यस प्रतियोगितालाई ऐतिहासिक भनिएको उनको भनाई छ।

