


भैरहवा, २६ पुस। आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत करदाता सेवा कार्यालय परासीले प्रवाह गर्दै आएको सेवाहरु अबदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) परासीबाट प्रदान गर्ने भएको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले कोलेनिका कार्यालयको प्रांगणमा करदाता (सेवाग्राही) लाई कर चुक्ता प्रमाणपत्र प्रदान गरी सेवा शुभारम्भ भएको आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताए।

सरकारले ०८२ कार्तिक १७ गते करदाता सेवा कार्यालयहरु खारेज गर्ने निर्णय गरेकोले उक्त कार्यालयको सेवा कोलेनिकाबाट सुरु भएको हो ।
सेवा शुभारम्भ कार्यक्रममा प्रमुख कोष नियन्त्रक कमल सापकोटा, आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, करदाता सेवा कार्यालय, परासीको प्रमुख माया पन्थी लगायतको उपस्थिति थियो।
करदाता सेवा कार्यालय परासीबाट सम्पादन हुँदै आएका सेवाहरु करदातालाई सहज, शीघ्र, चुस्तदुरुस्त र प्रभावकारी रुपमा प्रवाह गर्न कोलेनिका प्रतिबद्ध रहेको र सोहीअनुसार सेवा प्रवाह गरिने प्रमुख कोष नियन्त्रक सापकोटाले बताए।
करदातालाई प्रदान गरिने सेवाको सुनिश्चितता र आवश्यक समन्वयका लागि कोलेनिका र आन्तरिक राजस्व कार्यालय, भैरहवाले एक–एक जना अधिकृतस्तरको कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोकेको र सेवा प्रवाहमा करदाताबाट कुनै किसिमको गुनासो आउन नदिन आफूहरु प्रतिबद्ध रहेको प्रमुख कर अधिकृत पोख्रेलले बताए।
करदाताहरुलाई विश्वस्त रहन उनले आग्रह गरे। साथै, सेवा प्रवाह गर्ने प्रक्रियामा कुनै समस्या आएमा आन्तरिक राजस्व कार्यालय, भैरहवाबाट अनलाइन प्रणालीबाट तत्काल समाधान गरिने उनको भनाई छ।
करदाता सेवा कार्यालय, परासीको कार्यक्षेत्र अन्तर्गत करिब २८ हजार बढी करदाता छन् ।

