


भैरहवा, ४ माघ । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
पार्टीका अनुसार एमालेले क्षेत्र नं १ बाट दधिराम न्यौपाने, २ बाट विष्णुप्रसाद पौडेल, ३ बाट वासुदेव घिमिरे, ४ बाट सुनिता ठटेर, ५ बाट खिमलाल भट्टराईले उम्मेदवारी दिने छन् ।

पौडेल र घिमिरेबाहेक सबै नयाँ उम्मेदवार हुन्। पार्टी केन्द्रीय सदस्य न्यौपाने ०७४ मा प्रदेश सभा सदस्य थिए भने ०७९ मा सोही क्षेत्रबाट प्रदेशसभामा पराजित भएका थिए। उपाध्यक्ष पौडेल ०५६ देखि बुटवल क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन् ।
केन्द्रीय सदस्यमा पराजित घिमिरे ०७९ मा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए। केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भट्टराई राष्ट्रिय सभा सदस्य भए पनि प्रतिनिधि सभामा नयाँ हुन् ठटेर जिल्ला उपसचिव हुन्।
रुपन्देही १ मा एमाले सचिव छविलाल विश्वकर्माको नाम पहिलो नम्बरमा सिफारिस थियो। तीन पटक सोही क्षेत्रमा उठेका उनले यो पटक दधिराम न्यौपानेलाई अघि सारेका हुन्।

