
भैरहवा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुको चहलपहल बढेको छ । ठूला राजनीतिक दलहरुले मतदाता रिझाउने रणनीति अन्र्तगत यसअघि संसदीय चुनाव नलडेका तथा क्षेत्रमा नयाँ मानिने अनुहारलाई उम्मेदवार बनाएका छन् । पुराना र स्थापित नेताको साटो दलहरुले ‘नयाँ फेस’ माथी दाउ लगाउँदा रुपन्देही–३ मा बहस–चर्चा सुरु भएको छ ।
नेकपा एमाले बाहेकका प्रमुख दलहरुले रुपन्देही–३ मा पहिलोपटक संसदीय चुनावी मैदानमा उत्रिएका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । एमालेले यसअघि रुपन्देही–५ बाट निर्वाचित भइसकेका वासुदेव घिमिरेलाई यस क्षेत्रबाट अघि सारेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ०७४ मा नेकपा माओवादी केन्द्रबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा पराजित भएका फैज अहमद खाँलाई मैदानमा ल्याएको छ । यस अघिका निर्वाचनमा पनि प्रत्यक्ष होमिएका यी दुई पात्र ठूला दल मध्यबाट हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

युवापुस्ताले परिवर्तनको नारा दिएको बेला नेपाली कांग्रेसले यस पटकको चुनावमा ‘नयाँ फेस’को रुपमा विद्यार्थीकालदेखि राजनीतिमा होमिएका रुपन्देही–३ का क्षेत्रिय सभापति सुशिल गुरुङ्गलाई चुनावी मैदानमा उतारेको छ । ०७९ को निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनले रुपन्देही–३ बाट जित हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्व.दीपक बोहराको ‘नागरिक जिम्मेवारी’ उनका जेठा सुपुत्र गौरव बोहराको काँधमा राख्न चाहेको छ । जसकारण ‘नयाँ फेस’ को रुपमा उसले पाइलटसमेत रहेका बोहरालाई चुनावी लडाईको रिङ्गमा उतारेको छ ।
त्यस्तै मुलुकमा क्रेज बढेको अवस्थामा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा गत कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचनमा पार्टीको प्राइमरी इलेक्सनमार्फत चुनिएका डा.लेखजंग थापालाई नै ‘चुनावको अनुभवी उम्मेदवार’ बीच खडा गरेको छ । उनी पनि हालसम्म प्रत्यक्षतर्फको निर्वाचनमा क्षेत्र नम्बर ३ का मतदातामाझ ‘नयाँ फेस’ हुन्। यस बाहेक जसपा नेपाल, जनमत पार्टी, उज्यालो नेपाल पार्टी लगायतले पनि ‘नयाँ फेस’ ल्याएका छन् ।
दलहरुले ‘पुराना फेस’ भन्दा ‘नयाँ फेस’ मार्फत मतदाताको विश्वास जित्ने रणनीति अपनाउँदा यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । पुराना नेतामाथी दाउ लगाउँदा पार्टीले हार व्यहोर्न सक्ने भएकोले दलहरुले युवा मतदाता र परिवर्तन चाहने समूह लक्षित विगतका निर्वाचनमा भन्दा अहिले मुलुकको धेरै क्षेत्रमा उम्मेदवार चयनको रणनीति फेरेको देखिएको छ
।
स्थानीय राजनीतिक विश्लेषकहरुका अनुसार, पुराना र स्थापित फेसका नेताभन्दा ‘नयाँ फेस’ लाई अघि सार्दा मतदातामा सकारात्मक सन्देश जाने भएकोले दलहरुले चुनावी मैदानमा यसपटक ‘नयाँ फेस’ उतारेका हुन् । तर, मतदातामा सकारात्मक सन्देशसँगै ‘नयाँ फेस’ उतारेका पुराना दलहरुलाई जोखिम पनि कम नरहेको उनीहरुको बुझाई छ ।
दलहरुले चुनावी मैदानमा ‘नयाँ फेस’ उतार्दा मतदाताको प्रतिक्रिया मिश्रित रहेको छ । धेरै मतदाताले यसलाई दलहरुको सकारात्मक कदम भनेका छन् भने केहीले उम्मेदवारको अनुभवहीनता औंल्याएका छन् ।

