


काठमाडौं,१९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगले वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई १ लाख ४६ हजार ४२० रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कुरियर कम्पनीमार्फत विदेश पठाउने विभिन्न सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत माग गरेको उनीहरुविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले आइतबार उनीहरुलाई डिल्लिबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूबाट प्रयोगमा रहेका मोबाइल सेटहरु समेत नियन्त्रणमा लिइएको र घटनासँग सम्बन्धित थप प्रमाण संकलन भइरहेको आयोगले जनाएको छ।

