
लुम्बिनी, २३ माघ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले पर्यटनलाई स्थानीय आर्थिक समृद्धिको मेरुदण्ड बनाउने योजना रहेको बताएका छन् ।
शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल क्षेत्र भएपनि रुपन्देही–५ मा अपेक्षित विकास हुननसक्नुमा उनले चिन्ता व्यक्त गरे । ‘लुम्बिनी विश्वकै गौरव हो तर अहिलेसम्म यो क्षेत्रले विकासमा फड्को मार्न नसक्नु हामी सबैका लागि दुर्भाग्यपूर्ण विषय हो’,उनले भने,‘अब भाषण होइन, काम गर्ने समय आएको छ, मतदाताहरुले सोच्नुपर्ने बेला आएको छ ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘सभ्य र समृद्ध रुपन्देही–५’ भन्ने नारासहित अघि सारिएको ‘पर्यटन विकास गुरुयोजना’ले लुम्बिनीमा केन्द्रित पर्यटनलाई लुम्बिनीसहित समग्र निर्वाचन क्षेत्र (गाउँ–गाउँ) सम्म विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

लुम्बिनी विश्व शान्तिको मुहान मात्रै नभई रुपन्देही–५ को विशिष्ट पहिचान भएको बताउँदै उम्मेदवार खानले पर्यटनबाट हुने लाभ सिधै स्थानीयको जीवनस्तरसँग जोडिने बताए।
‘लुम्बिनीको विकासलाई रुपन्देही–५ का प्रत्येक घरधुरीको समृद्धिसँग जोड्ने छु’,उनले भने,‘पर्यटकहरु लुम्बिनी त आउँछन् तर अधिकांश आएकै दिन फर्किने गरेका छन् । अब उनीहरुलाई यहाँ टिकाउनका लागि हाम्रो क्षेत्रका तालहरु र गाउँ देखि सैनामैना नगरसम्म थप केही दिन बस्ने वातावरण बनाउने छु ।’
लुम्बिनी आएका पर्यटकहरुको बसाईँ लम्ब्याउन नसकेकोमा क्षेत्रको समृद्धिमा बाधा पुगेको उनी बताउँछन् । विगतदेखि हुँदै आएको गल्ती अब गर्ने मौका नरहेको भन्दै क्षेत्रको समृद्धिका लागि लुम्बिनी आएका पर्यटकको बसाईँ लम्ब्याउनका निम्ति ठोस योजनाका साथ आफु अगाडी आएको उनले बताए ।
उनका अनुसार जसका लागि लुम्बिनी, गजेडी ताल र गैडहवा ताललाई समेटेर एकीकृत ‘लुम्बिनी–गजेडी–गैडहवा पर्यटन सर्किट’ निर्माण गरिनेछ । यसका लागि पर्यटक बस सेवा, व्यवस्थित सडक सञ्जाल र एकीकृत पर्यटकीय मार्ग विकास गरिने योजना छ । साथै, स्थानीय समुदायको मौलिक संस्कृति झल्कने सांस्कृतिक संग्रहालय र प्रदर्शनी स्थल निर्माण गरी पर्यटकलाई स्थानीय जीवनशैली नजिकबाट चिनाउने लक्ष्य राखिएको छ ।

‘गजेडी ताललाई लुम्बिनी प्रदेशकै प्रमुख पिकनिक र बोटिङ गन्तव्यका रुपमा विकास गर्ने योजना छ । यहाँ फ्लोटिङ रेष्टुरेन्ट, बाल उद्यान र चरा अवलोकन केन्द्र निर्माण गरिनेछ’, आफ्नो योजना सुनाउँदै उनले भने,‘गैडहवा तालको सिमसार क्षेत्र संरक्षण गर्दै इको–टुरिजम केन्द्रको रुपमा विकास गरिने र ताल वरिपरि साइकल ट्रयाक तथा पैदलमार्ग बनाइने छ ।’
ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन थारु र मधेसी बस्तीमा होमस्टे कार्यक्रम सञ्चालन गरिने योजना रहेको उनले बताए । यसले स्थानीय महिला र युवालाई प्रत्यक्ष रोजगारी दिने उम्मेदवार खानको भनाई छ । कृषि फार्ममा आधारित ‘एग्रो–टुरिजम’ मार्फत पर्यटकलाई स्थानीय उत्पादनको स्वाद चखाउने र किसानको आम्दानी बढाउने योजना पनि समेटिएको छ ।
धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई पनि विशेष प्राथमिकता दिने बताए । यस क्षेत्रमा रहेका पुराना मठ–मन्दिर, मस्जिद र चैत्यहरुको जीर्णोद्धार गरी धार्मिक सहिष्णुता झल्कने पर्यटकीय गन्तव्य बनाइने बताइएको छ । स्थानीय पौराणिक पोखरी र इनार संरक्षण गरी तिनलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्ने योजना पनि उनले अघि सारेका छन् ।
पर्यटनसँगै खेल गतिविधिलाई जोड्दै लुम्बिनीदेखि गजेडी तालसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथन र साईकल दौड आयोजना गर्ने तथा गजेडी तालमा सुरक्षित वाटर स्पोट्र्स सञ्चालन गर्ने पनि उनको योजना छ । डिजिटल प्रवद्र्धनका लागि भर्चुअल टुर, मोबाइल एप र वेबसाइट विकास गरिनेछ भने लुम्बिनी र प्रमुख नाकामा पर्यटक सूचना केन्द्र स्थापना गरिने बताइएको छ ।
स्थानीय रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाउँदै पाँच सय युवाहरुलाई टुरिस्ट गाइड, होटल व्यवस्थापन र हस्तकला तालिम दिने योजना पनि छ । स्थानीय हस्तकलाको प्रवद्र्धनका लागि ‘कोसेली घर’ स्थापना गरिने उनले बताए ।

उम्मेदवार खान भन्छन्,‘पर्यटन भनेको ठूला होटल र सहर/बजारमा मात्र सीमित हुने विषय होइन । यो किसान, मजदुर, महिला र युवाको आयआर्जन/समृद्धिसँग जोडिनुपर्छ र जोड्ने काम म गर्छु । रुपन्देही–५ लाई शान्ति, संस्कृति र समृद्धिको नमुना क्षेत्र बनाउनेछु ।’
चुनावी माहोल तातिँदै गएको रुपन्देही–५ मा रास्वपाका उम्मेदवार तौफिक अहमद खानको पर्यटन केन्द्रित योजनाले विकास र रोजगारीको नयाँ बाटो देखाएको सरोकारावालाहरुको भनाई छ ।

