
काठमाडौं,२३ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा व्याप्त निराशाको मुख्य कारण भ्रष्टाचार रहेको बताउँदै नयाँ रुपको कांग्रेस भ्रष्टाचारविरुद्ध दृढ रुपमा उभिएको दाबी गरेका छन्।
शुक्रवार कास्की कांग्रेसद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘आज नागरिकलाई नेपालको सबैभन्दा ठूलो शत्रु को हो भनेर सोध्दा जवाफ आउँछ—‘करप्सन’। भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा बनेर परिवर्तन भएको नेपाली कांग्रेस आएको छ।’ उनले कांग्रेसका नेता–कार्यकर्ता टाउकोदेखि पुच्छरसम्म भ्रष्टाचारविरुद्ध संकल्प गरेर आएको दाबी गरे।
Advertisement

Advertisement
Advertisement

थापाले विगतमा देशलाई हिंसाको चपेटाबाट मुक्त गरिएझैँ अब भ्रष्टाचारको दलदलबाट पनि कांग्रेसले नै बाहिर निकाल्ने बताए। ‘हिजो हामीले नेपाललाई हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि बाहिर निकाल्छौँ,’ उनले भने।
भ्रष्टाचारकै कारण देशले आत्मविश्वास गुमाएको उल्लेख गर्दै उनले त्यो आत्मविश्वास पुनःस्थापित गर्ने जिम्मेवारी कांग्रेसकै भएको बताए। ‘अहिले देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ। समाजमा ठूलो कोलाहल छ र भित्रभित्रै असन्तोषको आगो बलिरहेको छ। यस्तो बेला त्यसलाई सम्हाल्ने जिम्मेवारी नेपाली कांग्रेस पार्टीको हो,’ उनले स्पष्ट पारे।
देशलाई अहिले आगो लगाउने शक्ति नभई सम्हाल्ने शक्ति आवश्यक रहेको भन्दै थापाले चेतनाको राजनीति गर्न सक्ने दल कांग्रेस भएको दाबी गरे। ‘उत्तेजना फैलाउन जो–कोही सक्छ, तर देशलाई सम्हाल्न चेतनाको राजनीति चाहिन्छ। त्यो शक्ति नेपाली कांग्रेस हो। हामी मिलाउँछौँ, हामी सम्हाल्छौँ,’ उनले भने।

