


भैरहवा, २६ माघ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का नागरिकहरुलाई अहिले पनि सामान्य उपचारका लागि भैरहवा/बुटवल पुग्नुपर्ने बाध्यता छ। स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्य हुननसक्दा यहाँका नागरिकलाई दशकौंदेखि सास्ती झेल्नुपरेको छ । क्षेत्रका नागरिकलाई भैरहवा/बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने रुपन्देही–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्वास्थ्य क्षेत्रलाई चुनावी एजेन्डा बनाउँदै उनले ‘स्वस्थ क्षेत्र नं. ५, खुसी नागरिक’ भन्ने अवधारणासहित विस्तृत योजना तयार पारिएको सुनाए ।

उनका अनुसार अब क्षेत्रका नागरिकले सामान्यदेखि विशेषज्ञ उपचारका लागि बाहिर जानुपर्ने अवस्था क्रमशः अन्त्य हुनेछ। उनले क्षेत्रको मध्यभाग (रुद्रपुर वा गजेडी क्षेत्र) मा निर्वाचन क्षेत्र स्तरीय ‘मल्टी–स्पेशालिटी’ सरकारी अस्पताल स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

उक्त अस्पतालमा प्रसूति, बालरोग र हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा २४ सै घण्टा उपलब्ध रहनेछ भने हुलाकी राजमार्ग र व्यस्त सडकमा हुने दुर्घटनालाई लक्षित गरी आधुनिक ट्रमा सेन्टर र आकस्मिक सेवा समेत सञ्चालन गरिनेछ।
‘स्वास्थ्य सेवा व्यापार होइन, नागरिकको अधिकार हो। पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्नु नै मेरो संकल्प हो’,उम्मेदवार खानले भने,‘नागरिक स्वस्थ रहेमा क्षेत्रका समृद्धिमा टेवा पुग्छ भन्ने मेरो स्पष्ट बुझाई छ।’
उनले प्रत्येक वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै डिजिटल हेल्थ क्लिनिकमा रुपान्तरण गरिने बताएका छन् । साथै, सरकारले तोकेका ९८ प्रकारका आधारभूत औषधि कुनै पनि बेला अभाव नहुने गरी अटोमेटेड स्टक प्रणाली लागू गरिने उनको प्रतिवद्धता छ ।
आमा र बच्चाको सुरक्षालाई प्राथमिकता दिँदै उम्मदेवार खानले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत जटिल सुत्केरी अवस्थाका लागि निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी आमाका लागि पोषण भत्ता तथा प्रत्येक वडामा शिशु स्वास्थ्य जाँच र पोषण पुनस्र्थापना केन्द्र स्थापना गरिने बताएका छन् । उनले भने,‘आमा र बच्चाको जीवन सुरक्षित हुनु भनेको समाजको भविष्य सुरक्षित हुनु हो ।’

उनका अनुसार ७० वर्ष माथिका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि मासिक रुपमा घरमै पुगेर स्वास्थ्य जाँच र औषधि उपलब्ध गराइनेछ । साथै, प्रत्येक छ महिनामा विशेषज्ञ चिकित्सकसहितको घुम्ती स्वास्थ्य शिविर हरेक पालिकामा सञ्चालन गरिने योजना पनि समेटिएको छ ।
‘मिर्गौला रोगीहरुले हप्तामा दुई पटक भैरहवा धाउनुपर्ने बाध्यता हटाउन यसै क्षेत्रको अस्पतालमा कम्तीमा १० वटा मेसिनसहितको डायलासिस सेन्टर स्थापना गरिनेछ’, आफ्नो योजना सुनाउँदै उनले भने,‘महिलाहरुका लागि पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ क्याम्प वर्षमा दुई पटक सञ्चालन गरिनेछ।
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनेतर्फ उनले अति विपन्न, दलित र पिछडिएका परिवारको स्वास्थ्य बिमा (प्रिमियम) स्थानीय तहको समन्वयमा शतप्रतिशत अनुदान दिइने योजना बनाइएको बताए । बिमा कार्ड भएपनि सेवा नपाईने भन्ने गुनासो अन्त्य गरिने उनको भनाई छ।
‘रगत, दिसा–पिसाब लगायत जाँचका लागि काठमाडौँ वा बुटवल रिपोर्ट पर्खनुपर्ने अवस्था अन्त्य गर्दै क्षेत्रमासेन्ट्रल डायग्नोस्टिक ल्याब स्थापना गरी डिजिटल रिपोर्ट मोबाइलमै पाउने व्यवस्था गरिनेछ ’,आफ्नो योजना सुनाउँदै उनले भने,‘साथै, ग्रामीण क्षेत्रका महिलाहरुका लागि निःशुल्क घुम्ती भिडियो एक्स–रे सेवा पनि सञ्चालन गरिनेछ ।’
यसैगरी, लागुऔषध दुव्र्यसनमा फसेका युवाहरुका लागि आधुनिक पुनःस्थापना तथा परामर्श केन्द्र स्थापना गरिनेछ भने विद्यालय र वडास्तरमा मानसिक स्वास्थ्य परामर्शदाता नियुक्त गरिने उनको योजना छ।

‘स्वस्थ नागरिक बिना समृद्ध समाज सम्भव छैन’,उनले भने,‘रुपन्देही–५ लाई उपचारका लागि होइन, स्वस्थ जीवनका लागि चिनिने क्षेत्र पनि बनाउने मेरो लक्ष्य हो ।’
र, यो पनि…
रुपन्देही–५ मा तौफिकको योजना : लुम्बिनीबाट गाउँ–गाउँसम्म पर्यटन
तौफिकले भने सोध्नुहोस्–लुम्बिनीमा पर्यटकको ओइरो किन लागेन ? रोजगारी किन पाइएन ?
तौफिकको कृषि रोडम्याप : खेत–खेतमा पानी, किसानको ओठमा मुस्कान

