


लुम्बिनी, २३ माघ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकको ओइरो लाग्न नसक्नुमा चिन्ता व्यक्त गरेका छन् ।
‘विश्वकै महत्वपूर्ण स्थल लुम्बिनीमा पर्यटकहरुको किन ओइरो लाग्न सकेको छैन् ? अहिलेसम्म नेताहरुले के गरे? कस्तो नीति नियम बनाए ? किन पर्यटकहरु आउन सकेका छैनन् ? यहाँ युवाहरु किन बेरोजगार छन् ? अब प्रश्न गर्नुहोस् ?’ लुम्बिनीमा आयोजित कार्यक्रममा स्थानीयहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हामीहरु भिजनका साथ आएका छौ, अन्यले नगरेपछि हामी गर्न आएका हौं।’

तीन दलले प्रधानमन्त्रीको कुर्सीलाई म्यूजिकल चेयर बनाएर ६/६ महिना प्रधानमन्त्री पदको बाँडफाँड गर्दा मुलुकमा स्थिरता र समृद्ध हुननसकेको उनको भनाई छ ।
उनले ०६२/६३ को जनआन्दोलन पश्चात मुलुकको व्यवस्था परिवर्तन भएपनि हालसम्म नागरिकको अवस्था परिवर्तन हुन नसकेको बताए । ‘अहिले पनि गरिबीसँग जुध्नु परेको छ । रोजगारी छैन, युवाहरु विदेशिनु परेको छ’, उनले भने, ‘लुम्बिनी जस्तो स्थलबाट पनि रोजगारीका लागि युवाहरु विदेशिनु पर्ने अवस्था निकै दुर्भाग्यपूर्णको विषय हो ।’
र, यो पनि…
रुपन्देही–५ मा तौफिकको योजना : लुम्बिनीबाट गाउँ–गाउँसम्म पर्यटन

