


लुम्बिनी,२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले कृषि नै क्षेत्रको आर्थिक मेरुदण्ड भएकोले कृषि रुपान्तरण आवश्यक रहेको बताएका छन्।
रुपन्देही–५ लाई लुम्बिनी प्रदेशकै नमुना कृषि क्षेत्र बनाउने संकल्पसहित उनले सिँचाइदेखि बजार, प्रविधिदेखि रोजगारीसम्म समेटिएको एकीकृत योजना अघि सारेका छन्।

उनले किसानलाई चुनावी नाराको विषय मात्र नभई आर्थिक समृद्धिको मूल आधार बनाउने बताए । ‘किसानलाई अनुदानको लाइनमा होइन, उत्पादन र आम्दानीको केन्द्रमा राख्नुपर्छ । खेत–खेतमा पानी पुग्यो भने किसानको अनुहार आफैँ हाँस्छ’,उनले भने,‘किसानको समस्या दशकौंदेखि ज्यूँको त्यूँ छ । अब परिवर्तन हुनेछ, जसका लागि मतदाताको साथ आवश्यक छ ।’

किसानलाई अनुदानमा निर्भर नभई उत्पादन, आम्दानी र बजारसँग प्रत्यक्ष जोड्ने आफ्नो योजना रहेको उनले सुनाए । उनले पशुपालन, दुग्ध उत्पादन, कृषि यान्त्रिकीकरण र कृषि पर्यटनलाई रोजगारीसँग जोडेर क्षेत्र समृद्ध बनाउन सकिने धेरै आधारहरु रहेको बताए।
‘कृषि क्षेत्र समृद्ध बनाउने धेरै आधारहरु छन् तर अहिलेसम्म क्षेत्रका कृषकहरुले खेत सिँचाइका लागि पानी पाउन नसकेको अवस्था छ’,उनले भने,‘दशकौं देखिको यो समस्या अहिले पनि उस्तै रहनु हामी सबैको लागि दर्भाग्यपूर्ण विषय हो। अब हामी नयाँ सोचका साथ स्पष्ट खाका र योजनासहित कृषकलाई पानी उपलब्ध गराउन आएका छौं ।’
उनका अनुसार दानव र कञ्चन नदीको पानी हिउँदमा पनि उपयोग हुने गरी साना तथा मझौला लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरिनेछ । ‘गजेडी, रुद्रपुर र गैडहवाका सुख्खा क्षेत्रमा ५० वटा ठूला डिप ट्युबवेल जडान गरी सामूहिक सिँचाइ प्रणाली विकास गर्ने मेरो योजना छ’,उनले भने,‘सिँचाइका लागि प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म अनुदानमार्फत किसानको उत्पादन लागत घटाइने खाका तयार पारेको छु ।’ पानी र बिजुली किसानका लागि विलासिता नभई अधिकार रहेको उनको भनाई छ।

‘एक वडा, एक विशिष्ट उत्पादन’ अवधारणा अन्तर्गत कञ्चन र गैडहवालाई अर्गानिक तरकारी उत्पादनको हब बनाइनेछ भने गैडहवा ताल आसपास आधुनिक माछापालन र प्रशोधन केन्द्र स्थापना गर्ने उनको योजना छ । लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रलाई धान र गहुँको बिउ उत्पादन केन्द्रका रुपमा विकास गरिने छ।
‘किसानलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले क्षेत्रका प्रत्येक किसानको डिजिटल प्रोफाइल तयार गरी ‘स्मार्ट किसान कार्ड उपलब्ध गराइनेछ’,आफ्नो योजना सुनाउँदै उनले भने,‘यही कार्डका आधारमा मल, उन्नत बीउ र कृषि औजारमा दिइने र अनुदान सिधै किसानको खातामा पठाइने व्यवस्था मिलाउँछौं ।’ उनले अब राज्यको सुविधा विचौलियाले नभई पसिना बगाउने वास्तविक किसानले मात्रै पाउने बताए।

कृषक उत्पादनपछि बजारको समस्या नहोस् भन्नका लागि लुम्बिनी र रुद्रपुरमा कम्तीमा ५ हजार मेट्रिक टन क्षमताका आधुनिक शीतभण्डार निर्माण गरिने उनको योजना छ। किसानले आफ्नो उत्पादनको मूल्य मोबाइलबाटै थाहा पाउने गरी ‘कृषि बजार एप’ सञ्चालन गरिने र उत्पादन बिक्री नभए पालिकाले न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने ग्यारेन्टी गरिने बताइएको छ।
उम्मेदवार खानका अनुसार कृषि यान्त्रिकीकरणतर्फ प्रत्येक वडामा ट्याक्टर, हार्भेस्टर र ड्रोन उपलब्ध हुने कस्टम हायरिङ सेन्टर स्थापना गरिनेछ । क्षेत्रभित्रै घुम्ती माटो परीक्षण प्रयोगशाला सञ्चालन गरिने र प्रत्येक वडामा स्थायी कृषि प्राविधिक (जेटी/जेटीए) को व्यवस्था गरी किसानको खेतमै प्राविधिक सेवा पुर्याईनेछ।

पशुपालन र दुग्ध उत्पादनतर्फ भैंसी र गाईको नश्ल सुधारका लागि निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम लागू गरिने बताइएको छ। लुम्बिनी क्षेत्रमा ठूलो दुग्ध प्रशोधन केन्द्र स्थापना गरी धुलो दूध र पनिर उत्पादन गर्दै निर्यातसमेत गर्ने योजना छ भने सार्वजनिक बाँझो जग्गामा व्यावसायिक घाँस खेती प्रवद्र्धन गरिने पनि उनले आफ्नो योजनामा समेटेका छन्।
त्यसैगरी गजेडी र कञ्चन क्षेत्रमा कृषि फार्म–स्टे प्रवद्र्धन गरी कृषि पर्यटन विकास गरिने भएकोले किसानलाई उत्पादनसँगै पर्यटनबाट पनि आम्दानी हुने वातावरण सिर्जना गर्ने उम्मेदवार खानको भनाइ छ । ‘पर्यटक खेतमै आएपछि किसानको आम्दानी दोब्बर हुन्छ’,उनले भने,‘जसकारण क्षेत्रको समृद्धिमा टेवा पुग्छ ।’
जोखिम व्यवस्थापनतर्फ बाली तथा पशु बिमामा ७५ प्रतिशत सरकारी र बाँकी २५ प्रतिशत स्थानीय तहको अनुदान रहने गरी ‘निःशुल्क कृषि बिमा’ लागू गरिने उनले बताए । बाढी, डुबान र असिनाबारीबाट हुने क्षतिका लागि तत्काल राहत दिन ५ करोड रुपैयाँको किसान राहत कोष स्थापना गरिने योजना बनाइएको उनले सुनाए।

क्षेत्रलाई कृषिको माध्यमले समृद्ध बनाउन सकिने र मतदाताले साथ दिएको अवस्थामा बनाएर देखाउने भन्दै आफ्नो योजना सुनाउँदै उनले भने,‘युवालाई खाडी पठाउने होइन । आफ्नै माटोमा सुन फलाउने वातावरण बनाउनु नै मेरो राजनीति हो । यसैकारण मैले यस पटकको निर्वाचनमा उम्मेदवारी दिएको हुँ ।’
रास्वपा उम्मेदवार खानको कृषि–केन्द्रित योजनालाई रुपन्देही–५ मा रोजगारी, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको वैकल्पिक रोडम्यापका रुपमा हेरिएको छ ।
र, यो पनि…
रुपन्देही–५ मा तौफिकको योजना : लुम्बिनीबाट गाउँ–गाउँसम्म पर्यटन
तौफिकले भने सोध्नुहोस्–लुम्बिनीमा पर्यटकको ओइरो किन लागेन ? रोजगारी किन पाइएन ?

