


भैरहवा, २९ माघ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेस आगामी निर्वाचनबाट सबैभन्दा ठूलो दलको रुपमा उदाउने बताएका छन्।
कांग्रेस रुपन्देहीद्वारा बिहीबार भैरहवामा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताए ।

देशमा मन जलेको, मानिसको मन भाँचिएको र विश्वास टुक्रिएको उनको भनाई छ। धर्तीमा सबैभन्दा पूरानो विषय धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने उनको भनाई छ। ‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ। साँच्चै बदलिएको हो र नयाँ भएर आएको कांग्रेस नै हो,’उनले भने ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले निर्वाचनमा कांग्रेसको बहुमत आउन जरुरी रहेको बताए । उनले कांग्रेसका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । कांग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल बनाएको र कांग्रेस नेतृत्वले नै यसको सञ्चालन गर्ने उनको भनाइ छ।

