


लुम्बिनी,५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनुपर्ने र त्यो आफुले ल्याउने बताएका छन् ।
शिक्षा क्षेत्र सुधारका लागि आफुसँग स्पष्ट खाका रहेकोले आगामी पाँच वर्षभित्र सामुदायिक विद्यालयको गुणस्तरमा ठोस सुधार ल्याउने आफ्नो योजना रहेको उनले सुनाए ।

‘सरकारी विद्यालय भनेपछि कमजोर भन्ने सोच अब अन्त्य हुनुपर्छ,’ आफ्नो योजना सुनाउँदै उनले भने, ‘नरुपन्देही–५ मा सामुदायिक विद्यालयलाई नै गुणस्तरीय शिक्षाको पहिलो रोजाइ बनाउने मेरो लक्ष्य हो।’
उनका अनुसार प्रत्येक पालिकामा कम्तीमा पाँच विद्यालयलाई ‘नमुना विद्यालय’का रुपमा विकास गरिनेछ भने सबै विद्यालयमा आकर्षक भवन, प्रयोगशाला, छुट्टाछुट्टै शौचालय र शुद्ध खानेपानीको व्यवस्था गरिनेछ।
पाँच वर्षभित्र सबै माध्यमिक विद्यालयमा उच्च गतिको इन्टरनेट र कम्प्युटर ल्याब स्थापना गरिने तथा कक्षा ६ देखि १२ सम्म ‘स्मार्ट बोर्ड’मार्फत पढाइ सञ्चालन गरिने योजना छ। शिक्षकलाई नियमित प्रविधिमैत्री तालिम दिइने उनले बताए।
प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिँदै उनले एक बहुप्राविधिक शिक्षालय स्थापना गर्ने र कक्षा ९ देखि १२ सम्म कम्तीमा एक सीपमूलक विषय अनिवार्य गर्ने घोषणा गरेका छन्। ‘अध्यापनको प्रमाणपत्रसँगै सीप पनि आवश्यक छ’,उनले भने।

विद्यार्थीका लागि ‘सांसद छात्रवृत्ति कोष’ स्थापना गर्ने आफ्नो योजना रहेको उनले सुनाए । एमबीबीएस, इन्जिनियरिङ र लोकसेवा तयारीका लागि सहयोग उपलब्ध गराइने उनको भनाई छ। साथै, क्षेत्रका सामुदायिक क्याम्पसलाई स्नात्तकोत्तर तहसम्म स्तरोन्नति गर्ने योजना पनि रहेको छ।
उनका अनुसार, छोरी शिक्षालाई प्रोत्साहन गर्न कक्षा ८ माथिका छात्रालाई साइकल वितरण गरिनेछ भने विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरिनेछ। प्रारम्भिक बाल विकास केन्द्रलाई ‘मन्टेसरी’ पद्धतिमा रुपान्तरण गरिने र आवश्यकताअनुसार मातृभाषामा शिक्षा सुनिश्चित गरिनेछ।
दिवा खाजाको गुणस्तर सुधार, नियमित स्वास्थ्य परीक्षण तथा हरेक वडामा ‘स्मार्ट पुस्तकालय’ स्थापना गर्ने योजना उनले अघि सारेका छन्।
‘अबको पाँच वर्षमा रुपन्देही–५ का कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुने छैनन्,’ रास्वपाका उम्मेदवार खानले भने, ‘सरकारी विद्यालय पढ्ने विद्यार्थीले गर्व गर्ने वातावरण बनाउनेछु।’


