


लुम्बिनी,६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले पशुपालन र पन्छी विकासलाई व्यावसायिक उद्योगमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि नारासहित क्षेत्रलाई दूध, मासु र अण्डाको निर्यात केन्द्र बनाउने प्रतिबद्धता जनाएका हुन् ।

‘क्षेत्रमा पशुपालन र पन्छी विकासका लागि स्पष्ट खाका तयार गरिएको छ’, आफ्नो योजना सुनाउँदै रास्वपा उम्मेदवार खानले भने, ‘जसका लागि मतदाताको साथ आवश्यक छ ।’
उनले गाई–भैंसीमा निःशुल्क कृत्रिम गर्भाधान र ‘सेक्स सेमेन’ प्रविधि प्रयोग गरी उत्पादन वृद्धि गर्ने, बाख्रापालक किसानका लागि उन्नत जातका बोका वडा–वडामा वितरण गरिने योजना पनि उनले अघि सारेका छन्। ‘अब किसानले परम्परागत तरिकाले होइन, उन्नत नश्लबाट बढी आम्दानी लिने आधार तयार गर्नुपर्छ,’ उनले भने।

उनका अनुसार, दूध उत्पादन बढी हुने क्षेत्रमा सामुदायिक चिस्यान केन्द्र स्थापना र स्थानीय स्तरमै दुग्ध प्रशोधन प्लान्ट सञ्चालन गरी दही, पनिर, घिउ र खुवा उत्पादन गरेर ‘रुपन्देही–५ ब्राण्ड’ बनाउने योजना छ ।
उनले किसानले सहकारीमार्फत बिक्री गर्ने दूधमा प्रति लिटर पाँच रुपैयाँसम्म सिधै खातामा जाने उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिने बताए । किसानले पसिना बगाएपछि उचित मूल्य पाउनुपर्ने उनको भनाई छ।
पोल्ट्री क्षेत्रलाई प्रवर्द्धन गर्न युवालाई सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध गराइने, स्थानीय जातका कुखुरा तथा हाँस पालनमा विशेष अनुदान दिइने र दानाको बढ्दो मूल्य नियन्त्रण गर्न स्थानीय मकै र भटमास प्रयोग गरी सामुदायिक दाना उद्योग स्थापना गरिने उनको योजनामा समावेश छ।
पशु स्वास्थ्यका लागि मोबाइल भेटेरिनरी भ्यानमार्फत ‘पशु डाक्टर घरदैलो’ सेवा सञ्चालन गरिनेछ। ‘एक फोन कलमा प्राविधिक टोली किसानको गोठमै पुग्नेछ,’ आफ्नो योजना सुनाउँदै उनले भने, ‘खोरेत, पिपिआर र चरचरेजस्ता रोगविरुद्ध वर्षमा दुई पटक नि:शुल्क खोप अभियान चलाइनेछ।’
आधुनिक गोठ निर्माणमा ५० प्रतिशत पुँजीगत अनुदान दिने र पशु बिमा प्रिमियममा सरकारी सहुलियत र डिजिटल ट्यागिङ व्यवस्था लागू गरिने योजना पनि बनाइएको उनले बताए।
‘किसानको गोठमै समृद्धि ल्याउनु मेरो पहिलो प्राथमिकता हो,’ रास्वपा उम्मेदवार खानले भने, ‘रुपन्देही–५ लाई कृषि-पशुपालनमा आत्मनिर्भर मात्र होइन, उत्पादन निर्यातमुखी बनाउने मेरो संकल्प हो।’

