


काठमाडौं,६ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाहले सबै पक्षबीच सहमति गरेरमात्र आगामी निर्वाचन गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। राष्ट्रिय सहमति बेगर गरिएको आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने उनको भनाई छ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरेको भिडियो सन्देशमा उनले नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाक स्थितिमा रहेको उल्लेख गरेका छन्।

‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन्।
उनले सबै पक्षबीच सहमति गरेर चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्नुपर्ने आग्रह गरेका छन्।
‘देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको छ,’उनले भनेका छन्, ‘संघर्षको आडमा गरिएका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ ।’ सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रवर्धन गर्न उनले सबै पक्षसँग आग्रह गरे।
‘आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो’‚ उनले भनेका छन्।

