


रुकुम पूर्व, ६ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपालको जुनसुकै क्षेत्रबाट चुनाव लडे पनि जित्ने दाबी गरेका छन् ।
रुकुम पूर्वमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एक थान सांसद म जहाँबाट पनि जित्छु,’ उनले भने, ‘म मात्रै एउटा नेता हो नेपालमा जो जहाँ गएर पनि चुनाव जित्छ। अरु कसैको ताकत देखिएको छैन ।’

रुकुम पूर्वबाट उनी प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी गोरखा-२ बाट चुनाव जितेका थिए ।
पहिलो संविधान सभा निर्वाचन २०६४ मा उनी रोल्पा र काठमाडौं-१० बाट विजयी भएका थिए। २०७० को संविधान सभा निर्वाचनमा भने रोल्पा छाडेर काठमाडौं-१० र सिरहा-५ बाट निर्वाचन लडेका थिए । त्यो बेला काठमाडौँ-१० मा पराजित हुँदा सिरहाबाट जितेका थिए ।
यस्तै २०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन-३ बाट उनी विजयी भएका थिए ।

