
भैरहवा,८ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य समयमै सम्पन्न गराउन सम्बन्धित निकायमाथि आवश्यक दवाव सिर्जना गर्ने बताए।
Advertisement

Advertisement
Advertisement

‘भैरहवाको समृद्धि र लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनै पर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान नियमित र प्रभावकारी बनाउन म पहल र समन्वय दुवै गर्नेछु।’
उनका अनुसार विमानस्थल सञ्चालन सुस्त हुँदा पर्यटन, व्यापार तथा रोजगारीमा अपेक्षित लाभ लिन सकिएको छैन। ‘राज्यले अर्बौं लगानी गरेको संरचना खालीजस्तै अवस्थामा रहनु दुर्भाग्यपूर्ण हो,’ उम्मेदववार बोहराले भने, ‘दोस्रो टर्मिनल भवन समयमै सम्पन्न गर्न र आवश्यक पूर्वाधार व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्छ।’
पाइलटसमेत रहेका बोहराले प्राविधिक दृष्टिले पनि विमानस्थल सञ्चालनका चुनौती र सम्भावनाबारे आफू जानकार रहेको दाबी गरे। ‘म स्वयं उड्डयन क्षेत्रसँग जोडिएको व्यक्ति भएकाले समस्या कहाँ छ र समाधान कसरी निकाल्न सकिन्छ भन्ने विषयमा स्पष्ट छु,’ उनले भने, ‘रुपन्देही–३ का नागरिकको आवाज संसद्मा बलियोसँग उठाउनेछु।’
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आए लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन, विदेशी मुद्रा आर्जन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

