
दाङ,८ फागुन। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले एमालेको झण्डा जलाएको घटनापछि नेकपा एमालेले कडा प्रतिक्रिया जनाएको छ। उक्त घटनालाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ भन्दै आपत्ति जनाएको हो।
शुक्रबारका लागि रास्वपाले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न रवि लामिछाने बिहीबार सुर्खेतबाट घोराही आउने क्रममा तुलसीपुरमा स्वागतका लागि बसेका रास्वपा समर्थकले एमालेको झण्डा जलाएका थिए।
Advertisement

Advertisement
Advertisement

घटनापछि एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह गरेका छन्।
विज्ञप्तिमार्फत उनले भनेका छन्,‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा मात्र हो।’
उनले लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुने उल्लेख गर्दै अराजक प्रदर्शनले राजनीतिक संस्कार कमजोर बनाउने बताएका छन्।
उनले अगाडि भनेका छन्,‘प्रियतावादले तत्काल केही राहत र सहानुभूति त दिलाउन सकिएला, तर त्यसको अन्त्य अत्यन्तै दर्दनाक र दुःखद हुन सक्छ।’
घटनापश्चात एमाले निकट युवा संघका लुम्बिनी प्रदेश संयोजक सन्तोष वलीद्वारा जारी विज्ञप्तीमा घटनाका दोषीलाई तत्काल कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्
युवा संघले शुक्रबार झण्डा जलाउने कार्यको बिरोधमा घोराहीमा प्रदर्शन गरेको छ उनीहरुले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कार्वाही गर्न उनीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
यता रास्वपाले एमालेको आरोपको खण्डन गरेको छ।रास्वपा दाङ जिल्ला सभापति बिनय घिमिरेले विज्ञप्ति जारी गर्दै आफूहरुले झण्डा नजलाएको जनाएका छन् । ‘रास्वपाको बढ्दो जनलहरलाई धुमिल बनाउने उद्देश्यले गरिएको यस्तो निन्दनीय कार्यमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।


