
भैरहवा,९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले युवालाई स्वरोजगार बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।
क्षेत्रका युवाहरुको वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र स्थानीय स्तरमै अवसरको अभावलाई मुख्य चुनौतीका रुपमा उल्लेख गर्दै उनले उद्यमशीलतामुखी कार्यक्रम अघि सार्ने बताएका हुन्।
Advertisement

Advertisement
Advertisement

क्षेत्रका धेरै युवा सीप र क्षमता हुँदाहुँदै पनि आवश्यक पूँजी, तालिम र बजार पहुँच नपाउँदा विदेशिन बाध्य भएकोले त्यसको अन्त्यको लागि आफुले कार्य गर्ने उनको भनाई छ । यही अवस्थालाई परिवर्तन गर्न स्वरोजगार र साना उद्यम प्रवर्द्धनमा जोड दिने बोहराले बताए।
‘रोजगारी खोज्दै विदेश जानु युवाको बाध्यता बन्नु हुँदैन,’बोहराले भने, ‘स्थानीय स्तरमै उद्यम सुरु गर्न सक्ने वातावरण, सहुलियत ऋण र सीपमूलक तालिमको व्यवस्था गर्नु आवश्यक छ।’
उनले कृषि, पशुपालन, साना उद्योग, प्रविधिमैत्री व्यवसाय र स्टार्टअप प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने बताए। स्थानीय उत्पादनको बजारीकरण, सहकारी तथा बैंकमार्फत सहुलियत वित्तीय पहुँच र तालिम केन्द्रसँग समन्वय गरेर युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उनको दाबी छ।
‘सरकारको भूमिका युवालाई जागिर दिने मात्र होइन, व्यवसाय गर्ने आधार तयार गरिदिने हो,’उम्मेदवार बोहराले भने, ‘नीति र कार्यक्रममार्फत स्वरोजगारलाई व्यवहारमै उतार्ने प्रयास गर्छु ।’
उनले युवाको ऊर्जा र सीपलाई सही दिशामा उपयोग गर्न सके क्षेत्रको आर्थिक गतिविधि स्वतः चलायमान हुने भन्दै स्वरोजगारमैत्री वातावरण निर्माणलाई आफ्नो एजेन्डा बनाएको बताए।

