


धकधई, ९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले पूर्वाधार विकास प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सडक सञ्जाल विस्तारदेखि रोहिणी नदी संरक्षण, देवदह–लुम्बिनी पर्यटन जोड्ने योजनासम्मका कार्यक्रम उनले अघि सारेका छन्।

क्षेत्रका सबै पालिकालाई आपसमा जोड्ने गरी स्तरीय सडक सञ्जाल निर्माण गर्ने उनले आफ्नो योजना सुनाए। ‘क्षेत्रभित्र विकासको पहिलो खुड्किलो नै सडक पूर्वाधार हो,’उनले भने, ‘सबै पालिका जोड्ने सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकता दिनेछु ।’
रोहिणी नदी संरक्षणसँगै जलाशययुक्त बाँध निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड्ने योजना पनि उनले अघि सारेका छन। मैनीहवामा रोहिणी नदीमाथि पक्की पुल निर्माण गरिने उनले बताएका छन्। रोहिणी नदीलाई संरक्षण गर्दै जलाशययुक्त बाँधबाट कृषि, पर्यटन र रोजगारी सिर्जनामा योगदान पुर्याउने योजना बनाइएको उनको भनाई छ ।
उनका अनुसार, भगवान बुद्धको मावली क्षेत्र देवदहलाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने र यसका लागि आवश्यक सडक तथा पूर्वाधार निर्माणमा पहल गरिनेछ।
सडकसँगै खानेपानी, सिंचाइ र विद्युत व्यवस्थापनलाई व्यवस्थित बनाउने, शहरी योजना लागू गरी अव्यवस्थित बस्ती व्यवस्थापन गर्ने तथा दीगो र वातावरणमैत्री विकासलाई प्राथमिकता दिने प्रतिवद्धता बोहराले जनाएका छन् । ‘योजनाविहीन विकासले समस्या बढाएको छ’, आफ्नो योजना सुनाउँदै उनले भने, ‘अब व्यवस्थित शहरी योजना लागू गर्नुपर्छ।’
उनले फोहोर प्रशोधन केन्द्र निर्माण गरी सरसफाइ व्यवस्थापन सुधार गर्ने र क्षेत्रमै सुविधा सम्पन्न खेलकुद मैदान निर्माण गर्ने योजना रहेको बताए । उनले विकासका मुद्दामा सम्झौता नभई परिणाम देखिने गरी काम गर्ने जनाए ।

