


अमेरिका,९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशहरुबाट मुलुकमा आयात हुने सामग्रीहरुमा १० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाएका छन्। जसका लागि उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो पोस्टमार्फत सबै देशहरुलाई ट्यारिफ लगाइएको जानकारी दिएका छन् । यो तत्काल लागू हुने उनले बताएका छन् ।

शुक्रबार नै ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्थामा प्रयोग हुने कानूनअन्तर्गत लगाइएका केही ट्यारिफहरुलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको भन्दै ती स्थानमा १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाउने आदेशमा हस्ताक्षर गर्ने बताएका थिए । समाचार ब्रिफिङमा बोल्दै ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि कडा टिप्पणी गरे ।
उनले अदालत विदेशी हितबाट प्रभावित भएको आरोप लगाउँदै सर्वोच्च अदालतको ट्यारिफसम्बन्धी फैसला अत्यन्त निराशाजनक रहेको बताए । अमेरिकी सर्वोच्च अदालतले शुक्रवार ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालीन अवस्थाका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गत लगाएका व्यापक ट्यारिफहरुलाई गैरकानूनी ठहर गरेको थियो ।
यो नयाँ १० प्रतिशत ट्यारिफ फेब्रुअरी २४ देखि लागू हुने र यो अस्थायी (१५० दिनसम्म) हुने बताइएको छ। केही वस्तुहरु (जस्तै ऊर्जा, औषधि, अटोमोबाइल, एरोस्पेस) र (अमेरिका–मेक्सिको–क्यानडा सम्झौता) अन्तर्गतका सामानहरुमा छुट रहने जनाइएको छ। यो ट्यारिफ १९७४ को व्यापार ऐनको सेक्सन १२२ अन्तर्गत लगाइएको हो। यो घटनाले विश्व व्यापारमा नयाँ अनिश्चितता थपेको छ भने अमेरिकी अर्थतन्त्र र उपभोक्तामा प्रभाव पार्न सक्ने बताइएको छ।

