
लुम्बिनी,११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले भ्रष्टाचार नियन्त्रण देखि सुकुम्बासी समस्या समाधान गर्नेसम्मका योजना अघि सारेका छन् ।
०८७ सालसम्म रुपन्देही–५ लाई नमुना ‘सुशासन क्षेत्र’ बनाउने बताउँदै उनले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र बिचौलिया प्रथालाई अन्त्य गरी नागरिकले घरदैलोमै सरकारको महसुस गर्ने वातावरण बनाउने योजना बनाइएको बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘अहिले पनि सरकारी कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती छ । अनावश्यक रुपमा सेवाग्राहीलाई सास्ती दिने काम हुन्छ’,उनले भने, ‘सहजै हुने कामका लागि पनि बिचौलिया समात्नुपर्ने अवस्था छ । नागरिकलाई दुःख बढी छ । तर, अब त्यो मैले अन्त्य गर्छु । नागरिकले दुःख नपाउने वातावरण बनाउने छु ।’
साथै उनले स्थानीय सरकारबाट प्राप्त हुने जन्म दर्ता, नागरिकता सिफारिसलगायत ३५ प्रकारका सेवा अनलाइनमार्फत उपलब्ध गराउने ‘डिजिटल वडा’ प्रणाली लागू गराइने आफ्नो योजना रहेको उनले सुनाए ।
‘नागरिकले सामान्य कागजका लागि दिनभर लाइन बस्नुपर्ने अवस्था अब रहँदैन। घरबाटै आवेदन दिने र सेवा पाउने व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘मालपोत, भूमिकर र अन्य सरकारी दस्तुर अनलाइन तिर्न सकिनेछ ।’
भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई जोड दिँदै उनले प्रत्येक तीन महिनामा वडा र पालिकास्तरमा ‘सांसदसँग जनता’ कार्यक्रम सञ्चालन गर्ने बताए। ‘बजेट कहाँ खर्च भयो ? कसरी भयो ? भन्ने कुरा खुला रुपमा जनतालाई देखाइनेछ’, उनले भने।
साथै, भ्रष्टाचार वा कर्मचारीको दुर्व्यवहारबारे सिधै उजुरी गर्न २४ घण्टे ‘हेलो सांसद’ टोल–फ्री हटलाइन सेवा सुरु गरिने उनले जानकारी दिए।
वृद्धभत्ता कार्ड, अपाङ्गता परिचयपत्र र नागरिकता जस्ता सेवाका लागि टोल–टोलमा घुम्ती शिविर सञ्चालन गरिने आफ्नो योजना रहेको उनले सुनाए । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता तथा सामान्य औषधि घरमै पुर्याउने व्यवस्था मिलाइने उनको प्रतिबद्धता छ।
सरकारी कार्यालयमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरी निःशुल्क फाराम भर्ने र प्रक्रिया बुझाउने व्यवस्था गरिने उनले बताए। डिजिटल टोकन प्रणाली लागू गरेर लाइन बस्ने झन्झट हटाइने योजना पनि उनको योजना छ।
प्रत्येक वडामा स्वयंसेवक युवालाई ‘सुशासनदूत’ का रुपमा परिचालन गरी अशिक्षित र असहाय नागरिकलाई सरकारी सेवा लिन सहयोग गराइने उनले बताए। सार्वजनिक स्थानमा उजुरी पेटिका राखी ७ दिनभित्र सम्बोधन गर्ने कानुनी ग्यारेन्टी गरिने उनको भनाइ छ।
राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने स्पष्ट नीति लागू गरिने खानले बताए।
रुपन्देही–५ मा लामो समयदेखि रहेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उनले उच्च प्राथमिकतामा राखेका छन्। पाँच वर्षभित्र सबै योग्य नागरिकलाई वैज्ञानिक ढंगले लालपूर्जा वितरण गरिने उनले बताए। नापी र मालपोतलाई प्रविधिमैत्री बनाइ अनियमितता नियन्त्रण गर्ने उनको योजना छ।
मुख्य चोक र बजार क्षेत्रमा सीसीटीभी जडान गरी शान्ति सुरक्षा मजबुत बनाइने उनले बताए। साथै, प्रहरी र समुदायको सहकार्यमा ‘लागुऔषध विरुद्धको अभियान’ सञ्चालन गरिने उनको भनाइ छ। उनले आफू शासक नभई सेवक बन्न निर्वाचनमा होमिएको स्पष्ट पारे।

