


लुम्बिनी, ११ फागुन ।रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले क्षेत्रमा विद्युत् सेवा पुगे पनि न्यून भोल्टेज, पटक–पटक लाइन काटिने समस्या र काठका पोलको जोखिम अझै कायमै रहेको भन्दै ऊर्जा क्षेत्र सुधारलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
ऊर्जा क्षेत्रको गुरुयोजना अन्र्तगत दिगो विकासका लागि आधुनिक ऊर्जा कार्यक्रममार्फत क्षेत्रलाई ‘पूर्ण उज्यालो र ऊर्जामा आत्मनिर्भर’ बनाउने योजना रहेको उनले सुनाए ।

चुनावी घरदैलो अभियानका क्रममा उनले भने, ‘बिजुली पुगेको भनिए पनि भरपर्दो छैन। न्यून भोल्टेजले किसानको मोटर समेत चल्दैन। अब क्षेत्रमा कमजोर पूर्वाधार सहेर बसिँदैन। त्यो बनाउनैपर्छ । सबैको साथले मैले बनाउँछु ।’
उम्मेदवार खानले आगामी दुई वर्षभित्र क्षेत्रका सबै जीर्ण काठका पोल हटाएर फलामे पोल जडान गर्ने योजना अघि सारेका छन्। न्यून भोल्टेज समाधान गर्न साना र पुराना ट्रान्सफर्मर विस्थापित गरी उच्च क्षमताका आधुनिक ट्रान्सफर्मर जडान गरिने उनले बताए। गैडहवा र कञ्चन क्षेत्रमा थप विद्युत् सब–स्टेशन निर्माणका लागि पहल गरिने उनको प्रतिबद्धता छ। ‘भार कम नभएसम्म नियमित आपूर्ति सम्भव छैन। त्यसैले संरचनागत सुधार नै पहिलो कदम हो,’ उनले भने।
कृषि क्षेत्रलाई लक्षित गर्दै उनले सिँचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था मिलाइने बताए। किसानका बोरिङ र पम्पसेटमा जडान गरिने मिटर निःशुल्क उपलब्ध गराइने तथा खेतको बीचसम्म लाइन विस्तार गर्न ‘कृषि विद्युतीकरण अभियान’ सञ्चालन गरिने आफ्नो योजना रहेको उनले सुनाए।
सार्वजनिक सुरक्षाका लागि लुम्बिनी आसपासका मुख्य चोक, रुद्रपुर बजार र गैडहवा चोकमा सोलर हाइ–मास्ट लाइट जडान गरिने उनले बताए। जोखिमपूर्ण गल्ली र सडकमा सेन्सर जडित सौर्य बत्ती राखी रात्रिकालीन सुरक्षा मजबुत बनाइने उनको योजना छ।
नवीकरणीय ऊर्जातर्फ उनले दुर्गम तथा छरिएका बस्तीमा ‘होम सोलर सिस्टम’मा ९० प्रतिशतसम्म अनुदानको व्यवस्था मिलाइने बताएका छन्। वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीका छतमा सौर्य प्यानल जडान गरी सरकारी कार्यालयलाई लोडसेडिङमुक्त बनाउने योजना उनले अघि सारेका छन्। घरमै उत्पादन गरिएको अतिरिक्त सौर्य ऊर्जा सरकारलाई बेच्न सकिने ‘नेट मिटरिङ’ प्रणालीलाई प्रोत्साहन गरिने उनले बताए।
स्वच्छ इन्धनतर्फ पशुपालन गरिरहेका परिवारलाई गोबर ग्यास प्लान्ट निर्माणमा ५० प्रतिशत अनुदान दिने र विपन्न परिवारलाई सहुलियत दरमा विद्युतीय चुलो वितरण गरिने उनको योजना छ। ‘धुवाँमुक्त भान्सा, वन संरक्षण र अर्गानिक मल-तीनै लाभ एकै पटक दिन सकिन्छ,’उनले भने।
उद्योग र रोजगारीलाई ऊर्जा सुदृढीकरणसँग जोड्दै उनले साना तथा मझौला उद्योगका लागि छुट्टै ‘डेडिकेटेड फिडर’को व्यवस्था गरिने बताए। हुलाकी राजमार्ग र प्रमुख रुटमा विद्युतीय सवारी साधनका लागि फास्ट चार्जिङ स्टेशन स्थापना गर्ने पनि उनको प्रतिबद्धता छ।
विद्युत् चोरी नियन्त्रण र करेन्ट लाग्ने दुर्घटना न्यूनीकरणका लागि गाउँ–गाउँमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ भने स्थानीय युवालाई विद्युत् वायरिङ र मर्मत तालिम दिई ‘गाउँले इलेक्ट्रीसियन’का रुपमा रोजगारी सिर्जना गरिने आफ्नो योजना रहेको उनले सुनाए।
ऊर्जा पूर्वाधार सुधारदेखि नवीकरणीय प्रवर्द्धनसम्मको विस्तृत योजना सार्वजनिक गरेका खानको यो एजेन्डाले ग्रामीण भेगका किसान, व्यवसायी र युवामाझ नयाँ अपेक्षा जगाएको छ। अब मतदाताले यो प्रतिबद्धतालाई कत्तिको विश्वास गर्छन्, त्यसको निर्णय मतपेटिकाले गर्नेछ।

