
लुम्बिनी,१२ फागुन। रुपन्देही–५ का युवाहरुलाई वैदेशिक रोजगारीको बाध्यता हटाउँदै आफ्नै माटोमा उद्यम सुरु गर्न प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले योजनाहरु बनाइएको बताएका छन्। उनका अनुसार, आगामी पाँच वर्षभित्र कम्तीमा पाँच हजार युवालाई प्रत्यक्ष स्वरोजगारमा जोड्ने लक्ष्य राखिएको छ।
उद्यमशीलता र स्वरोजगार गुरुयोजना अन्र्तगत सक्षम युवा, स्वावलम्बी क्षेत्र बनाइने उनले बताए । उनले निर्वाचित भएमा क्षेत्रलाई जागिर खोज्ने नभई जागिर दिनेको क्षेत्र बनाउने भन्दै युवाहरु रोजगारी पाउनुका साथै आफ्नै व्यवसाय सुरु गर्न सकिने योजना बनाइएको बताए ।
Advertisement

Advertisement
Advertisement

‘क्षेत्रका युवाहरु रोजगारीको लागि खाडी मुलुक जानुपर्ने बाध्यात्मक अवस्था छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको क्षेत्रका युवाहरु रोजगारीका लागि विदेशिनु भनेको हामी सबैको लागि दुर्भाग्यपूर्ण विषय हो’,उनले भने,‘अब क्षेत्रका युवाहरु रोजगारीका लागि विदेश होइन । आफ्नै माटोमा रोजगार र स्वरोजगार बनाउने योजना बनाएको छु ।’
उनका अनुसार, सांसद युवा उद्यम कोषमार्फत ५ लाखदेखि १० लाखसम्मको विना धितो सहुलियत ऋण उपलब्ध गराइनेछ भने महिला र दलित उद्यमीका लागि ब्याजमा ५० प्रतिशत अनुदान प्रदान गरिनेछ। प्रत्येक वडामा स्थानीय उत्पादन (जस्तै गैडहवामा माछा, कञ्चनमा तरकारी, लुम्बिनीमा हस्तकला) आधारित साना उद्योग स्थापना गरिनेछ र महँगा मेसिनरी साझा सुविधा केन्द्रमार्फत सस्तो भाडामा प्रयोग गर्न सकिनेछ।
‘युवाहरुलाई प्लम्बिङ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, ब्युटिसियन, टेलरिङ, अटो–मेकानिक्स जस्ता तालिम दिइनेछ’,रास्वपा उम्मेदवार खानले आफ्नो योजना सुनाउँदै भने,‘आधुनिक आईटी ल्याबमार्फत डिजिटल उद्यमिता प्रवर्द्धन गरिनेछ। कृषि उद्यम र प्रशोधन केन्द्रमार्फत टमाटरबाट केचअप, दूधबाट चीज–पनीर, मकैबाट दाना जस्ता उद्योगमा ५० प्रतिशत पुँजीगत अनुदान दिइनेछ।’
स्थानीय उत्पादनलाई ब्रान्डिङ र प्याकेजिङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने आफ्नो योजना रहेको उनले सुनाए ।
महिला र पिछडिएको वर्गका लागि घरमै आम्दानी गर्न सक्ने सीप (अगरबत्ती, साबुन, मैनबत्ती, ढकिया बुन्ने) सिकाइनेछ भने बजार ग्यारेन्टी सहित बिक्रीको व्यवस्था गरिने व्यवस्था मिलाइने बताए। उद्यमी सहायता कक्षमार्फत कानुनी, प्राविधिक र बजार प्रवर्द्धनका लागि निःशुल्क परामर्श र डिजिटल मार्केटिङ तालिम प्रदान गरिने उनको योजना छ।
उनका अनुसार, नयाँ आविष्कार गर्ने युवालाई वार्षिक १ लाख नगद ‘युवा उद्यमी पुरस्कार’ प्रदान गरिनेछ भने वर्षमा एक पटक प्रदर्शनी र मेला आयोजना गरी उत्पादित वस्तुहरुको प्रचार गरिनेछ। हस्तकला उद्योग, होमस्टे, टुर गाइड तालिममार्फत पर्यटन क्षेत्रमा रोजगारी सुनिश्चित गरिनेछ ।
‘म युवालाई विदेश पठाउने होइन, यहाँ रोजगार सिर्जना गर्ने उद्यमिता प्रवर्द्धन गर्ने लक्ष्यमा छु’,उम्मेदवार खानले भने, ‘युवाहरुले आफ्नै व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्नुपर्छ। जसका लागि मसँग स्पष्ट खाका छ।’

