
लुम्बिनी, १३ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तौफिक अहमद खानले महिला, दलित, मधेसी र अल्पसंख्यक समुदायलाई पूर्णरुपमा समावेश गर्दै समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनका अनुसार, प्रत्येक नागरिकले राज्यको सेवा पहुँच गर्न पाउनु र आफ्नो पहिचानप्रति गर्व गर्नु नै विकासको वास्तविक मापदण्ड हो।
‘रुपन्देही–५ को विकास तब मात्र पूर्ण हुन्छ जब यहाँका महिला, दलित र अल्पसंख्यकले गर्वका साथ ‘यो मेरो पनि सरकार हो’ भन्न सक्छन्’,मतदाता भेटघाटका क्रममा उनले भने,‘जात, धर्म र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गर्नु पनि मेरो लक्ष्य हो।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार, सामाजिक न्याय र समावेशी उत्थान योजना अन्तर्गत महिलालाई नेतृत्व विकास र कानुनी सचेतना तालिम दिइनेछ। महिला सहकारीलाई बीउ पूँजी उपलब्ध गराइ साना उद्यम (सिलाई-कटाई, ब्युटिसियन, हस्तकला) मार्फत आम्दानी बढाउने अवसर सिर्जना गरिनेछ। घरेलु हिंसा र दाइजो प्रथाविरुद्ध ‘महिला निगरानी समूह’ गठन गरिनेछ।
‘दलित समुदायको परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोडेर आर्थिक सशक्तिकरण र उच्च शिक्षा र प्राविधिक शिक्षामा शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइ अवसर सिर्जना गरिनेछ’,आफ्नो योजना सुनाउँदै उम्मेदवार खानले भने, ‘जातीय विभेद र छुवाछूत गर्नेहरुलाई कडा कानुनी कारबाहीसहित सामाजिक जागरण अभियान सञ्चालन गरिनेछ।’
मधेसी र थारु/जनजाति समुदायको पहिचान सुरक्षित राख्न सांस्कृतिक सङ्ग्रहालय र अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको उनले बताए। मातृभाषामा आधारभूत तहसम्म शिक्षा, मौलिक पर्वको संरक्षण र प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिने उनको भनाई छ।
उनका अनुसार, सडक नाटक र घरदैलो सचेतना कार्यक्रममार्फत बालविवाह, दाइजो प्रथा र सामाजिक कुरीतिहरुको अन्त्य गरिनेका साथै स्वास्थ्य क्षेत्रमा पाठेघरको क्यान्सर र प्रजनन स्वास्थ्य सम्बन्धी नि:शुल्क शिविर सञ्चालन हुनेछ। अत्यन्त विपन्न दलित र पिछडिएका आमाहरुलाई पोषण प्याकेज वितरण गरिनेछ।
राजनीतिक र प्रशासनिक सहभागितामा महिला, दलित र मधेसी युवालाई लोकसेवा तयारी र नेतृत्व तालिम दिएर राज्यको मूलधारमा पुर्याइने योजना रहेको उनले बताए।
‘सबैले समान अवसर पाउनुपर्छ। सबैले आफ्नो पहिचानप्रति गर्व गर्न सक्ने, विभेदविहीन ‘समतामूलक क्षेत्र’ निर्माण मेरो लक्ष्य हो’, उनले भने।

