


धकधई,११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रज्जवल बोहराले सबै नागरिकका लागि सुलभ र गुणस्तरीय विशेषज्ञ सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
गाउँ–नगरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने, क्षेत्रभित्र पर्ने सबै पालिकालाई समेटेर एउटै समन्वित स्वास्थ्य व्यवस्थापन प्रणाली लागू गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

‘सामान्य उपचारका लागि पनि शहर धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ’,उनले भने,‘स्वास्थ्य क्षेत्रमा हाम्रो लक्ष्य भनेको गाउँमै विशेषज्ञ सेवा, आवश्यक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनु हो।’
क्षेत्रका स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गरिने र क्षेत्रका लागि सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको व्यवस्थापन गर्ने उनको योजना छ। आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिने उनले बताए।
त्यस्तै, स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उनको अर्को प्रतिबद्धता छ। बीमा कार्यक्रममा देखिएका कमजोरी सुधार गर्दै सेवा लिने प्रक्रियालाई सहज बनाइने उनले बताए। स्वास्थ्य बीमा कागजमै सीमित नभई बिरामीले व्यवहारमै राहत पाउनुपर्ने उनको भनाई छ ।
स्थानीय तहसँग सहकार्य गर्दै क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थालाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने बोहराको दाबी छ। ‘राजनीति पदका लागि होइन, सेवा र परिणामका लागि हुनुपर्छ,’ उनले भने, ‘रुपन्देही–१ का नागरिकले अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने मेरो अठोट हो।’

