
भैरहवा,११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले नागरिकले आकर्षक नारा र ठूला सपनाभन्दा पनि आधारभूत आवश्यकता पूरा हुने र सुशासन स्थापिन हुने अपेक्षा गरेको बताएका छन् । घरदैलो अभियानका क्रममा स्थानीयसँग भेटघाट गर्दै जनताको मुख्य समस्या र पार्टीका प्रतिबद्धताबारे धारणा राखेका हुन्।
घरदैलोका क्रममा आफूले सुनेका अनुभव सुनाउँदै डा. थापाले गाउँ–बस्तीमा पुग्दा नागरिकले ठूलो राजनीतिक परिवर्तनभन्दा पनि दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय उठाउने गरेको बताए। उनका अनुसार स्थानीयको प्राथमिकतामा सडक पूर्वाधार, कृषिमा सुधार, समयमा मलखाद उपलब्धता, गुणस्तरीय शिक्षा तथा सहज स्वास्थ्य सेवा रहेका छन्। साथै देशभित्रै रोजगारी सिर्जना गरी युवालाई स्वदेशमै अवसर दिनुपर्ने नागरिकको चासो केन्द्रित रहेको उनले उल्लेख गरे ।
Advertisement

Advertisement
Advertisement

डा. थापाले युवा पलायनलाई सबैभन्दा संवेदनशील विषयका रुपमा चित्रण गरे। रोजगारीको खोजीमा विदेशिएका सन्तानका कारण अभिभावकहरु एक्लिएको अवस्था देख्दा आफू भावुक भएको बताउँदै उनले युवालाई स्वदेशमै फर्काएर सम्मानजनक जीवनयापनको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए। विगतका उपलब्धिप्रति जनता सन्तुष्ट नरहेकाले अहिले रास्वपाका उम्मेदवारप्रति आशा र भरोसा बढेको उनको दाबी छ।
देशको समृद्धि र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बताउँदै डा.थापाले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गरे। भ्रष्टाचार निर्मूल पार्दै पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने लक्ष्यसहित आफू अघि बढेको उनको भनाइ थियो।
घरदैलो अभियानमा सहभागी समानुपातिक उम्मेदवार ज्ञानु पौड्यालले पनि वर्तमान अवस्थाले पार्टीलाई थप ऊर्जा दिएको बताइन्। उनले बुटवलका सुकुम्बासी बस्ती व्यवस्थापन, अधुरा पर्यटकीय आयोजना सम्पन्न गर्ने र महिलालाई आत्मनिर्भर बनाउने योजनामा पार्टीको प्राथमिकता रहने उल्लेख गरिन्।

