
बुटवल,१२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-२ बाट नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई जेनजी २.० ले समर्थन गर्ने घोषणा गरेको छ। यसअघि जेनजी २.० ले सर्लाहीमा कांग्रेसका सभापति एवं उम्मेदवार गगनकुमार थापा, चितवनमा नेकपाको उम्मेदवार रेणु दाहाललाई समर्थनको घोषणा गरेको थियो ।
देशव्यापी युवाहरुको संगठन बनाएको समूहले उम्मेदारको क्षमताको आधारमा विभिन्न जिल्लामा विभिन्न दलका उम्मेदारहरुलाई साथ दिने रणनीतिअनुसार रुपन्देहीमा पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई समर्थनको घोषणा गरेको हो ।
Advertisement

Advertisement
Advertisement

बुटवलमा पत्रकार सम्मेलन गरेर समूहका प्रवक्ता अविन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवाहरुको पृष्ठभूमि र क्षमताको आधारमा समर्थन र सहयोग गर्ने नीति अनुसार रुपन्देही-२ मा विष्णु पौडेललाई समर्थन गरेको बताए ।
रुपन्देहीमा पौडेलले भौतिक विकास तथा पूर्वाधारको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गर्दै बलियो जनाधारका कारण समर्थन गरिएको उनको भनाई छ ।
लिम्बुले सर्लाहीमा नेपाली काँग्रेसका सभापति रहेका गगन थापा र चितवनमा नेकपा नेतृ रेणु दाहाललाई समर्थन गरेजस्तै रुपन्देहीमा पौडेललाई समर्थन गरिएको उल्लेख गरे।
‘हाम्रो साथीहरु ग्राउण्ड जिरोमा फिल्ड रिपोर्टिङमा हुनुहुन्छ, निर्वाचन आचारसंहिताका कारण त्यो सार्वजनिक गरेका छैनौं, त्यही रिपोर्टका आधार हामीले समर्थन गरेका हौं । सुकुम्बासी, भूमिहीनका क्षेत्रमा, सडक निर्माणमा उहाँको योगदानका आधारमा साथ दिने निर्णय गरेका हौ’,उनले भने,‘सर्लाहीमा अमरेशले पटक पटक जितेर पनि जनताको काम नभएको रिपोर्टहरु धेरै आए, स्थानीय मतदाताका विषयमा अमरेश कहिल्यै सम्बोधन नगरेको रिपोर्टका आधारमा गगनलाई साथ दिएका हौं ।’
जनताको पक्षमा काम गर्ने जुनसुकै दलका उम्मेदवारलाई प्रतिनिधिसभा निर्वाचनमा विजयी गराउनुपर्ने आफुहरुको स्पष्ट दृष्टिकोण रहेको बताउँदै उनले राजनीतिक विचारभन्दा पनि पात्र र योजनाको आधारमा जेनजीहरुले साथ दिएको जनाए।

