
भैरहवा,१२ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा विकासको परम्परागत ढाँचा कि आधुनिक रुपान्तरण भन्ने बहस सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले अघि सारेका योजनाहरु र घरदैलो अभियानले यो बहसलाई थप तार्किक र आशावादी बनाएको पार्टीले जनाएको छ ।
गत फागुन ४ गतेदेखि सुरु भएको उनको चुनावी अभियान मंगलबार मायादेवी गाउँपालिका–८ तथा तिलोत्तमा नगरपालिका १४ र १५ मा पुगेको छ। पार्टीका अनुसार, क्षेत्रका ३६ वडामध्ये २९ वडामा पुगेर उनले आफ्नो एजेन्डा र समृद्धिको खाका मतदातामाझ प्रस्तुत गरिसकेका छन्। उनी मत माग्न मात्र नभई क्षेत्रको भूगोल, सम्भावना र समस्याको अध्ययनसहित स्पष्ट ‘ब्लुप्रिन्ट’ लिएर जनताको आँगनमा पुगेका छन्।
Advertisement

Advertisement
Advertisement

उनको योजनाको केन्द्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ। ‘विमानस्थल छ तर जहाज छैन’ भन्ने गुनासोलाई अन्त्य गर्दै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन पहल गर्ने उनको प्रतिबद्धता छ। यसले रुपन्देही–३ लाई देशकै प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उनको दाबी छ।
स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रुपमा स्थापित गर्ने उद्देश्यसहित उनले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना र प्रभावकारी स्वास्थ्य बीमाको व्यवस्था गर्ने योजना अघि सारेका छन्। उम्मेदवार थापाका अनुसार, सरकारी विद्यालयको स्तर सुधार गर्न ‘नमुना विद्यालय’अवधारणा कार्यान्वयन गर्ने र विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने योजना छ।
कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन ‘एक वडा एक उत्पादन’ नीति लागू गर्ने, शीत भण्डार निर्माण, मल र बीउबिजनको वैज्ञानिक वितरण तथा आधुनिक सिँचाइ प्रणाली विकास गर्ने योजना रहेको उनले बताए। साथै, फोहोर व्यवस्थापनबाट ऊर्जा उत्पादन गर्ने वातावरणमैत्री सहर निर्माण र सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानमा स्तरोन्नति गर्ने योजना बनाइउको उनको भनाई छ।
विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण रुपमा सञ्चालन गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने उनको प्रतिबद्धता छ। भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध शून्य सहनशीलता अपनाउँदै ‘लाइन होइन, अनलाइन’ सेवा प्रणाली स्थानीय तहसम्म विस्तार गर्ने अठोट उनले व्यक्त गरेका छन्।
बाँकी वडाहरुमा पनि आफ्नो भिजन पुर्याउने अभियानमा रहेका डा. थापाले रुपन्देही–३ लाई आगामी एक दशकभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्याउने राष्ट्रिय लक्ष्यको मुख्य आधार स्तम्भ बनाउने दाबी गरेका छन्।

