


बुटवल, १४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित नेपाली कांग्रेसले शुक्रवार बुटवलमा चुनावी सभा आयोजना गरेको छ।
रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा आयोजना गरिने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

सभालाई पार्टीका सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभामा उनले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रुपान्तरणका विषयमा पार्टीको धारणा राख्ने बताइएको छ,।
रुपन्देहीमा कांग्रेसको पक्षमा जनलहर देखिएको नेपाली कांग्रेस रुपन्देही(२ का सभापति प्रजापाल गिरीको दावी छ। भोलीको सभाले त्यसको स्पष्ट सन्देश दिने उनको भनाई छ। सभामा जिल्लाभरबाट नेता(कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरुको सहभागिता रहने बताइएको छ।
कांग्रेसले लोकतन्त्रको रक्षा, विकास निर्माणमा तीव्रता, उद्योग–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने एजेन्डासहित चुनावी अभियान अगाडि बढाएको र प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका पार्टी सभापति सहितका नेताहरुको उपस्थितीले स्थानीय उम्मेदवारको जित सुनिश्चित गर्न थप ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए।
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेपाली कांग्रेसबाट क्षेत्र नं. १ मा हिराबहादुर खत्री, २ मा चुन्नप्रसाद शर्मा पौडेल, ३ मा सुशील गुरुङ, ४ मा आसुतोष मिश्रा र ५ मा भरतकुमार शाह चुनावी मैदानमा छन् ।

