


धकधई,१७ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जवल बोहराले कृषि र खाद्य सुरक्षालाई प्राथमिकता दिइने प्रतिवद्धता जनाएका छन्।
उनले व्यावसायिक कृषि प्रवर्द्धन, किसानलाई उचित मूल्य र बजार सुनिश्चितता, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार र आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएका हुन्।

घरदैलो कार्यक्रम तथा चुनावी भेटघाटका क्रममा बोहराले कृषि क्षेत्रको आधुनिकीकरणबिना ग्रामीण अर्थतन्त्र बलियो बन्न नसक्ने बताएका छन्।
‘रुपन्देही १ कृषि उत्पादनमा सम्भावनायुक्त क्षेत्र हो। तर किसानले अझै पनि उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्,’ उनले भने,‘किसानलाई बजारको ग्यारेन्टी र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ।’
उनले सिँचाइ सुविधाको अभाव, आधुनिक प्रविधिको कमी र भण्डारण पूर्वाधार नहुँदा किसान मारमा परेको उल्लेख गरे। ‘सिँचाइ, चिस्यान केन्द्र र आधुनिक कृषि प्रविधिमा लगानी नगरी हामीले उत्पादन वृद्धि गर्न सक्दैनौं,’उम्मेदवार बोहराले भने,‘सरकारले किसानलाई अनुदान मात्र होइन, उत्पादनदेखि बजारीकरणसम्मको पूर्ण चक्रमा सहयोग गर्नुपर्छ।’
बोहराले बढ्दो आयातका कारण स्वदेशी उत्पादन प्रतिस्पर्धाहीन बन्दै गएको दाबी गरे। ‘हामीले दैनिक उपभोगका धेरै वस्तु विदेशबाट आयात गरिरहेका छौं। यसले हाम्रो अर्थतन्त्र कमजोर बनाएको छ,’ उनले भने,‘आयातमा निर्भरता घटाएर स्वदेशी उत्पादन बढाउनु आजको आवश्यकता हो।’
उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर कृषि क्षेत्रमा दीर्घकालीन नीति ल्याउन आवश्यक छ। ‘कृषि र खाद्य सुरक्षालाई चुनावी नारामा सीमित नराखी व्यवहारमा लागू गर्नुपर्छ,’ बोहराले जोड दिदैं भने, ‘म निर्वाचित भए क्षेत्रलाई व्यावसायिक कृषि केन्द्रका रुपमा विकास गर्ने योजनासहित अघि बढ्नेछु।’

