


काठमाडौं,१७ फागुन। मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र केही देशहरुले हवाई क्षेत्र बन्द गरेपछि त्यसतर्फ हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन्। दोहा, दुबई, कुवेत, अबुधाबी, दमाम लगायतका गन्तव्यतर्फका उडानहरु रद्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालन हुने उडानसमेत रोकिएका छन्।
उडान रद्द भएसँगै टिकट लिएर विमानस्थल पुगेका यात्रुहरु अलमलमा परेका छन्। विशेषगरी खाडी मुलुकतर्फ वैदेशिक रोजगारीका लागि जाने नेपालीहरु बढी प्रभावित भएका छन्।

उडान कहिले पुनः सञ्चालनमा आउने भन्ने निश्चित जानकारी नहुँदा धेरै यात्रुहरु काठमाडौँमै बस्न बाध्य भएका छन्। केही यात्रुले बसोबास र खानपानका लागि पर्याप्त रकम नभएको भन्दै समस्या झेल्नुपरेको गुनासो गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनका अनुसार उडान सञ्चालनबारे स्पष्ट जानकारी प्राप्त हुनासाथ सम्बन्धित यात्रुहरुलाई सूचित गरिनेछ। साथै, यात्रुलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर मात्र आउन आग्रह गरिएको छ।

