


सलमान खान
भैरहवा, २५ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देहीका पाँचवटै क्षेत्रबाट युवाहरु निर्वाचित हुँदै संसदीय यात्रा तय गरेका छन् । यहाँका पुराना ‘राजनीतिक खेलाडी’हरुलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार (युवा) हरुले संसदीय यात्रा तय गरेका हुन् ।
पाँचवटै क्षेत्रबाट युवा उम्मेदवार निर्वाचित हुँदा पूर्वउपप्रधानमन्त्री देखि लिएर सांसद् भइसकेका अनुभवी उम्मेदवारहरु पराजित भएका छन् ।

केन्द्रीय राजनीतिमा प्रभाव जमाएका र चतुर राजनीतिक खेलाडी मानिने नेकपा (एमाले) का विष्णुप्रसाद पौडेल, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला, नेपाली कांग्रेसका भारतकुमार शाहसमेत चुनावी मैदानमा युवाहरुसँग भारी मतान्तरले पराजित भएका छन् ।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार, रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार ३५ वर्षीय सुनिल लम्साल, २ बाट २८ वर्षीय सुलभ खरेल, ३ बाट ४८ वर्षीय डा.लेखजंग थापा, ४ बाट ३६ वर्षीय कन्हैया बनिया र ५ बाट ३८ वर्षीय तौफिक अहमद खान निर्वाचित भएका छन् ।
जिल्लाको पाँचवटै क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गर्दा केही क्षेत्रमा ठूला दल र ‘हेभीवेट’ उम्मेदवारको जमानत समेत जफत भएको छ।
रास्वपाको जितसँगै क्षेत्रका ‘हेभीवेट’ मा नम्बर १ बाट नेकपाका उम्मेदवार बनेका पूर्वमन्त्री घनश्याम यादव अहिर, २ बाट पूर्वउपप्रधान एवं अर्थमन्त्री रहेका नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद पौडेल, ३ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरे पराजित भएका छन्।
त्यस्तै क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री रहेका जसपा नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला, पूर्वसांसद् नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव पराजित भएका छन्।
यस्तै क्षेत्र नम्बर ५ बाट पूर्वअर्थराज्य मन्त्री एवं सार्वजनिक लेखा समितिका पूर्वसभापति नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाह, पूर्वमन्त्री रहेका नेकपाका उम्मेदवार मुहम्मद वकील मुसलमान, राष्ट्रिय सभा सदस्य भइसकेका नेकपा (एमाले) का उम्मेदवार खिमलाल भट्टराई, पूर्वमन्त्री रहेका जनमत पार्टीका उम्मेदवार ओमप्रकाश यादवले पनि हार व्यहोर्नु परेको छ ।

