
भैरहवा,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया निर्वाचित हुँदा राजनीतिका चतुर खेलाडी मानिने सर्वेन्द्रनाथ शुक्लाको जमानतसमेत जफत भएको छ ।
शुक्ला जसपा नेपालबाट उम्मेदवार थिए । क्षेत्रमा दशकौं देखि राम्रो पकड रहेकोले पटक पटक चुनाव जितेर मन्त्री समेत भइसकेका शुक्लालाई यस पटकको निर्वाचनमा मतदाताले चौथो स्थानमा झारेका छन् ।
Advertisement

Advertisement
Advertisement

यसअघि ०७९ को निर्वाचनमा रुपन्देही–४ बाट प्रतिनिधिसभा सदस्यमा शुक्ला र प्रदेशसभा सदस्यमा बनिया एउटै पार्टी लोसपाबाट चुनावमा होमिएर निर्वाचित भएका थिए । त्यतीबेला क्षेत्रमा शुक्ला र बनियाबीच राजनीतिक ‘गुरु’, ‘चेला’ को भाष्यसहितको सम्बन्ध स्थापित भएको थियो ।
लुम्बिनी प्रदेशमा शुक्लाले आफ्नै क्षेत्रबाट निर्वाचित बनियालाई छाडेर रुपन्देही–३ (क) बाट निर्वाचित सन्तोषकुमार पाण्डेयलाई बोक्दै पटक-पटक मन्त्री बनाउन भुमिका खेलेपछि मर्चवार (रुपन्देही–४) का स्थानीयहरु रुष्ट भएका थिए । जसपश्चात बनिया र शुक्लाको सम्बन्ध चिसिएको थियो ।
पार्टी र लुम्बिनी प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिएर रास्वपाबाट चुनावी मैदानमा होमिएका बनियाले २८ हजार ६६ मतका साथ निर्वाचित हुँदा ‘राजनीतिक गुरु’ मानिएका शुक्ला ३ हजार ४१० मतमा सीमित भएका छन्। शुक्लाको राजनीतिक यात्रामा जमानत नै जफत हुने गरी सम्भवतः यो नै लज्जासपद हार हो ।
त्यस्तै निकटतम प्रतिद्धन्द्धी पूर्वसांसद् रहेका नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्दा क्षेत्रमा राम्रो छवि रहेका नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्र अन्तरघातका कारण १५ हजार ६ सय १३ मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका छन् ।
रुपन्देही–४ का निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार, क्षेत्रमा १ लाख १६ हजार १७२ मतदाता रहेकोमा ७७ हजार ५८ मत खसेको थियो । जसमध्ये ७२ हजार ३८ मत सदर भएको छ । क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएकोमा शुक्लासँगै १९ जनाको जमानत जफत भएको छ ।

