


काठमाडौं,२६ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई टेलिफोन गरेर बधाई दिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष १२५ सहित दुईतिहाइ बहुमत पक्का गर्नै लाग्दा प्रधानमन्त्री मोदीले सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका हुन् ।

उनले यो चुनावमा भएको ऐतिहासिक जितप्रति दुवैजनालाई बधाई दिएको पनि जानकारी गराएका छन् ।
सोमबार सामाजिक संजालमार्फत उनले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरे। मोदीले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
उनले दुवै देशको संयुक्त प्रयासमार्फत् आगामी वर्षहरुमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्। मोदीले यसअघि फागुन २१ को निर्वाचन सफलतापूर्वक गराएकोमा सरकार र नेपाली जनतालाई बधाई दिएका थिए।

