
भैरहव,२६ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीबाट चुनावी मैदान उत्रिएकामध्ये १४३ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जमानत जफत हुनेमा ठूला दलका उम्मेदवार देखि स्वतन्त्र उम्मेदवासम्म रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयका अनुसार, रुपन्देहीको ५ वटा निर्वाचन क्षेत्रमा १५५ जनाले उम्मेदवार दिएकोमा १२ जना बाहेक अन्य १४३ जनाको जमानत जफत भएको हो ।
Advertisement

Advertisement
Advertisement

निर्वाचन क्षेत्रमा भएको मतगणनामा कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना आर्यालले बताइन् ।
उनका अनुसार, रुपन्देही–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सुनिल लम्साल र कांग्रेसका हिराबहादुर खत्रीबाहेक २९ उम्मेदवारको जमानत जफत भएको छ।
त्यस्तै रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी सुलभ खरेल, एमालेका विष्णु पौडेल र कांग्रेसका चुन्नप्रसाद शर्माबाहेक अन्य ३६ जनाको जमानत जफत भएको छ ।
रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित डा.लेखजंग थापाबाहेक अन्यसबै ३५ जना जमानत जफत भएको छ भने रुपन्देही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित कन्हैया बनिया, एमालेका प्रमोदकुमार यादव र कांग्रेसका आशुतोष मिश्रबाहेक १९ जनाको जमानत जफत भएको छ ।
त्यस्तै रुपन्देही–५ मा २७ जना उम्मेदवारमध्ये रास्वपाबाट निर्वाचित तौफिक अहमद खान, एमालेका खिमलाल भट्टराई र कांग्रेसका भरतकुमार शाहबाहेक अन्य २४ जनाको जमानत जफत भएको कार्यालयले जनाएको छ ।

