


काठमाडौँ,१चैत। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यहरूले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउने भएका छन्। निर्वाचन आयोगको कार्यतालिकाअनुसार सबै प्रक्रिया पूरा भएमा सोही मितिसम्म प्रतिनिधि सभाका २७५ सदस्य नै निर्वाचित हुनेछन्।
आयोगका अनुसार छ वटा राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचित हुने सदस्यहरूको नामावली आइतबारसम्म आयोगमा पठाउनुपर्ने छ। त्यसपछि निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ।

प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतबाट यसअघिको परिणाम बदर हुने आदेश नआएमा निर्वाचन परिणामले पूर्णता पाउने आयोगले जनाएको छ। आयोगले चैत ५ गते नै निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ।
प्रतिवेदन पेस भएपछि उक्त जानकारी सङ्घीय संसद्मा पठाइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएर अन्य सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था छ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गरेकाले संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनको प्रक्रिया सुरु हुने छ।
उक्त व्यवस्था अनुसार दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्। आयोगले चैत ५ भित्र अन्तिम प्रतिवेदन पेस गरेमा चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने छ।बहुमत प्राप्त गरेको रास्वपाले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मत मागेको थियो ।

