


काठमाडौं,१चैत। युनाइटेड अरब इमिरेट्स (यूएई) मा सुरक्षा अवस्था दृष्टिगत गर्दै नेपाली दूतावासले त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई अफवाह फैलाउन, असुरक्षा सम्बन्धी सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्न वा सेयर गर्न नफैलाउन अपिल गरेको छ।
दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मा यूएईको वर्तमान सुरक्षा परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरु डिजिटल माध्यमबाट सार्वजनिक नगर्न अपिल गरिएको छ। यस्तो कार्यले सुरक्षा सम्बन्धी भ्रम फैलाउन सक्ने भएकाले नेपालीहरु जिम्मेवार बन्न अपिल गरिएको छ।

यूएईमा बसोबास गर्ने सबै नेपालीलाई त्यहाँको कानुन पालना गर्न र गैरकानुनी वा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन सचेत गराइएको छ। कानून उल्लंघन गरेमा यूएईको कानुन अनुसार १ देखि ३ वर्षसम्म कैद र १ लाखदेखि २ लाख दिरामसम्म जरिवाना हुन सक्ने उल्लेख गरिएको छ।
साथै, मिसाइल वा ड्रोन अवशेषमा नजिक नजान, तस्विर नखिच्न र त्यसलाई सार्वजनिक नगर्न पनि दूतावासले अनुरोध गरेको छ।
दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न र आधिकारिक तथा सत्य जानकारीका लागि मात्र सरकारी निकायका आधिकारिक स्रोत हेर्न नेपाली समुदायलाई सुझाव दिएको छ। अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज नियमित हेर्न पनि अनुरोध गरिएको छ।
यूएईको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, दुबई र अबुधाबी मिडिया कार्यालय तथा इमिरेट्स न्युज एजेन्सीबाट जारी हुने आधिकारिक सूचना मार्फतमात्र जानकारी लिन दूतावासले आग्रह गरेको छ ।
दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सुरक्षित, सचेत र जिम्मेवार भएर बस्न अपिल गरेको छ।

