


भैरहवा, २६ चैत। रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोबाट ६ जनालाई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही बरहथवा नगरपालिका–८ का ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ, ललितपुरको गोदावरी नगरपालिका–१५ का ४१ वर्षीय अजय केसी, बुटवल उपमहानगरपालिका–१२ का ३५ वर्षीय गोबिन्द शर्मा, सोही पालिका वडा नम्बर ११ का ३६ वर्षीय चन्दप्रसाद श्रेष्ठ, सोही पालिका वडा नम्बर ९ का ३५ वर्षीय बासुदेव गौतम र ३५ वर्षीय कृष्ण गौतम रहेको प्रहरीले जनाएको छ।

रुपन्देहीस्थित विभिन्न क्यासिनोहरुमा चेकजाँचको क्रममा बुधवार राती उक्त क्यासिनोबाट ६ जना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले जनाए ।

उनका अनुसार, पक्राउ परेका मध्य मुकेश र अजय जुवा खेलाउने कार्यमा संग्लन थिए भने अन्य चार जना जुवा खेल्ने कार्यमा संग्लन थिए ।
पक्राउ परेकाहरुका साथबाट २ लाख १७ हजार ३९० नेपाली रुपैयाँ, तीन हजार पाँच सय भारतीय रुपैयाँ, एक लाख २५ हजार क्यासिनो कोइन, ६ थान मोबाइल र ७ गड्डी तास बरामद भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

