
काठमाडौं,२७चैत। संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेका हुन्।
घोषित कार्यक्रमअनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया, चैत ३० देखि वैशाख ४ गतेसम्म देशभरका क्याम्पसमा छलफल तथा अन्तरक्रिया, र वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरुसँग संवाद गर्ने योजना छ। त्यसपछि वैशाख ७–९ गते क्याम्पसमा ब्यानर राख्ने, पर्चा बाँड्ने र हस्ताक्षर संकलन गर्ने कार्यक्रम तय गरिएको छ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै बैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र दिने, वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र वैशाख १५ गते काठमाडौँको बालुवाटारसहित देशभर कापी–कलमसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। उनले सरकारले अधिनायकवादी नीति अपनाए स्वीकार्य नहुने चेतावनी दिए।
अनेरास्ववियुका अध्यक्ष दिपक धामीले पनि सरकार जनताको आवाज दबाउन खोजेको आरोप लगाउँदै दलीय विचारसँग आवद्ध संगठन खारेज गर्ने प्रयास स्वीकार्य नहुने र एकतर्फी निर्णय भए कडा आन्दोलन गर्ने चेतावनी दिए।
यससँगै विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा प्रविधि एकीकरणको नियमन, त्रिभुवन विश्वविद्यालयको उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन, परीक्षाफल र मौका परीक्षा ३ महिनाभित्र सञ्चालन, महँगी नियन्त्रणसहित राहत प्याकेज घोषणा, तथा भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।

