


काठमाडौं,२२ बैशाख । नेपाली कांग्रेसले पाँच भ्रातृ संगठनको म्याद थप नगर्ने निर्णय गरेपछि ती संगठन स्वतः विघटन भएका छन्।
विघटन हुनेमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्। तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसकेका छन्।

महाधिवेशन गर्न नसकेपछि नेतृत्व परिवर्तनसँगै भ्रातृ संगठनका अध्यक्षहरु जिम्मेवारीबाट अलग भएका हुन्। पार्टीले यसअघि २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघलाई निर्देशन दिएको थियो भने पछि केही समय थप गरिएको थियो। उक्त समयसीमाभित्र महाधिवेशन गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने व्यवस्था गरिएको थियो।
त्यसपश्चात पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असार १६ देखि २३ गतेसम्म बसेर कार्यतालिका पेश गरेका संघहरुलाई थप समय दिने निर्णय गरेको थियो। तर, तोकिएको अवधिमा महाधिवेशन हुन नसकेपछि म्याद नथप्ने निष्कर्षमा पार्टी पुगेको हो।
म्याद सकिएका समितिहरुले उक्त अवधिमा गरेका निर्णय र मनोनयनहरु पनि स्वतः अवैध हुने निर्णय भएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन्।
दुलालले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘‘म्याद सकिएका समितिले त्यस अवधिमा गरेका निर्णय र मनोनयनहरु पनि स्वतः अवैध भएका छन्। अतः नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सबै भ्रातृ सङ्घहरुको महाधिवेशन गर्न आवश्यक व्यवस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने।’
नेपाल थारु सङ्घको हकमा भने जेठ १६ र १७ गते महाधिवेशन मिति तोकिएकाले सो अवधिसम्म समयावधि थप गरिएको कांग्रेसले जनाएको छ।

