


भैरहवा, ४ जेठ। रुपन्देही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भएका ९० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
अदालतबाट विभिन्न समयमा कैद तथा जरिवानाको सजायको फैसला सुनाइए पनि फरार रहेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, बैशाख महिनामा मात्रै पक्राउ परेका ९० जनालाई सजाय भुक्तानका लागि अदालतमा पेश गरिएको थियो। जसपश्चात कैद सजाय पाएका व्यक्तिहरुलाई कारागार चलान गरिएको थियो भने जरिवाना सजाय पाएका व्यक्तिहरुले जरिवाना बुझाएर रिहा भएका छन्। जरिवाना तिर्न नसक्नेहरुलाई कारागार पठाइएको थियो।
प्रहरीले सार्वजनिक गरेको बैशाख महिनाको प्रगति विवरण अनुसार पक्राउ परेकाबाट ५८ लाख ३४ हजार ७४५ रुपैयाँ जरिवाना असुल र उनीहरुबाट ६३ वर्ष २ महिना १२ दिनको कैद सजाय भुक्तानका लागि अदालत हुँदै कारागार चलान गरिएको हो।

