


भैरहवा, जेठ ९ । भैरहवामा भएको ‘पञ्चकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले उचालेको छ। शनिबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले उपाधि उचालेको हो ।
उपाधीसँगै वेष्टर्नले १ लाख १ रुपैयाँ र उपविजेतामा लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्याे ।

टस जितेर ब्याटिङमा रोजेको वेष्टर्नले निर्धारित ५० ओभरमा ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ८२ रन बनाउन सफल भयो। जसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रन्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष गौतम र सागर गैरेले समान १०–१० रन बनाए।
बलिङमा लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ३, अजयकुमार चौहान र शाह आलमले २–२ तथा शंकर राना र सुजन रानाभाटले १–१ विकेट लिए।
जवाफी ब्याटिङका लागि फिल्डमा उत्रिएको लुम्बिनी खुकुरी २४ ओभर ५ बलमा १ सय ३७ रनमै समेटिन पुग्यो। उसलाई सस्तैमा समेट्नका लागि वेष्टर्नका अभिशेष गौतमले ८ ओभर ५ बल बलिङ गर्दै २ मेर्डनसहित ३६ रन खर्चेर सर्वाधिक ७ विकेट लिए। यस्तै, सुझाव थापाले ३ विकेट हात पारे। खुकुरीका समीर अली मुसलमानले ६७ र शंकर रानाले ४७ रन बनाए पनि अन्य ब्याटर नचल्दा टीम उपाधि उचाल्नबाट चुक्न पुग्योे। अभिशेष गौतम म्यान अफ द फाइनल भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा वेष्टर्नका अभिशेष गौतम म्यान अफ द सिरिज भई १५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै, मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपिन आचार्य बेष्ट ब्याटर, मेलवर्नकै अशोक धामी बेष्ट बलर र वेष्टर्नका सुझाव थापा उदयीमान खेलाडी घोषित भए। उनीहरु तीनैजनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
२४औं संस्करण लिगको विजेता र उपविजेता टीमलाई आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा, खेल संयोजक प्रथम पराजुली, संघका कोषाध्यक्ष निरजप्रताप खाँण लगायतले पुरस्कार प्रदान गरे ।

