


लुम्बिनी,९ जेठ। बेलायतकी इन्डो–प्यासिफिक तथा इक्वालिटिज् उपमन्त्री सीमा मल्होत्राले लुम्बिनी सम्पूर्ण मानवजातिका लागि प्रेरणा, शान्ति र सद्भावको केन्द्र भएको बताएकी छन् ।
लुम्बिनी भ्रमणका क्रममा उनले बेलायत सरकार, युनेस्को र दुर्हाम विश्वविद्यालयको सहयोगमा लुम्बिनी तथा कपिलवस्तु क्षेत्रमा गरिएको उत्खननबाट महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्त्विक तथ्य उजागर भएको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताइन्।

लुम्बिनी भ्रमणपछि उपमन्त्री मल्होत्राले प्राचीन कपिलवस्तु तिलौराकोटस्थित राजा शुद्धोधनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको ऐतिहासिक स्थलको अवलोकन गरेकी थिइन् । लुम्बिनी र कपिलवस्तुमा भएको वैज्ञानिक अध्ययन, अनुसन्धानबारेमा उनलाई त्यहाँ जानकारी गराइएको थियो।
त्यस्तै शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उपमन्त्री मल्होत्राबीच भेटवार्ता भएको छ। भेटमा नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी र लुम्बिनी प्रदेशको विकास प्राथमिकताका विषयमा छलफल भएको जनाइएको छ।

