


भैरहवा,१२ जेठ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) नेत्र बुढालाई बैशाख महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ (उत्कृष्ट प्रहरी) घोषित गरिएको छ ।
विमानस्थल सुरक्षालाई थप प्रभावकारी, सुरक्षित तथा व्यवस्थित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेको मूल्यांकनका आधारमा छनौट भएका इन्सपेक्टर बुढालाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको कार्यालयले जनाएको छ ।

आयोजित कार्यक्रममा कार्यालय प्रमुख एंव एसएसपी राकेश सिंहले इन्सपेक्टर बुढालाई ‘बेस्ट पुलिस अफ द मन्थ’ को प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका छन् ।
यस्तै तोकिएको जिम्मेवारी व्यावसायिक रुपमा सम्पादन गरेको भन्दै प्रहरी हवल्दार देव कुमारी मश्राङ्गीलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिएको कार्यालयले जनाएको छ।

नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्दै सेवाप्रति थप उत्तरदायी र प्रतिबद्ध बनाउन यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

