
काठमाडौं,१८ जेठ। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पूँजीगत लाभकर वृद्धि गरेपछि बजेटपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २,७५५.३७ विन्दुमा बन्द भएको हो।
आयकर ऐन, २०५८ को दफा ९५ को उपदफा (२) संशोधन गर्दै सरकारले अल्पकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकरको दर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत तथा दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत कायम गरेको छ। कर दर वृद्धिको निर्णयले लगानीकर्तामा निराशा बढाएको र त्यसको प्रभाव सोमबारको बजारमा देखिएको लगानीकर्ताहरुको बुझाइ छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यस दिन ३४९ वटा स्क्रिप्सको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँमा खरिदबिक्री भएको छ।
बजार उच्च अंकले घटे पनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल रिइन्स्योरेन्स कम्पनी र कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किटमा पुगेका हुन्। यता, बुंगल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नोक्सानी व्यहोरे। कम्पनीको सेयर मूल्य १३.२० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल रिइन्स्योरेन्स कम्पनीको ३७ करोड रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २५ करोड रुपैयाँ, रिडी पावरको १७ करोड रुपैयाँ तथा नेसनल हाइड्रोपावरको १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा आएका कुल स्टक्समध्ये ३५ वटाको मूल्य बढ्दा २३३ वटाको मूल्य घट्यो भने २ वटाको मूल्य स्थिर रह्यो। नन लाइफ इन्स्योरेन्स र अदर्श समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।
अदर्श समूहको उपसूचक ३.३६ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ६.१४ प्रतिशतले घटेको छ।

